images

निर्माण व्यवसायीहरूको भुक्तान हुन बाँकी रकम तत्काल उपलब्ध हुनेछ: उपप्रधानमन्त्री एवं अर्थ मन्त्री पौडेल

साउन ०४, काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीहरूको भुक्तान हुन बाँकी रकम तत्काल उपलब्ध गराइने प्रतिबद्धता जनाउनु भएको छ । शुक्रवार नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलसँग अर्थ मन्त्रालयमा भेट गर्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले निर्माण व्यवसायीहरूको भुक्तानी रोकिँदा गलत सन्देश गएको स्विकार गर्नुभयो । विकास निर्माणसँग सम्बन्धित् मन्त्रालयका सचिवहरूसँग परामर्श गरी अविलम्ब निर्माण व्यवसायीहरूको रकम भुक्तान गर्ने विषयमा आफूले छलफल गरिसकेको उहाँले बताउनुभयो । ‘सरकार र निर्माण व्यवसायी एकै डुङ्गाका यात्री हुन्, त्यसैले दुवै पक्ष सहकार्य गरी अघि बढ्नुको विकल्प छैन’ उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले भन्नुभयो । निर्माण व्यवसायीहरूका अन्य समस्या पनि क्रमश ः सम्बोधन हुने जानकारी गराउँदै उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले व्यवसायीहरूले पनि तोकिएको रकममा समयमै गुणस्तरीय कार्य गर्नुपर्ने खाँचो औल्याउनुभयो । निर्माण व्यवसायीहरू नै मुलुकको विकासका अभियन्ता भएकाले सरकारलाई भरोसा गरी आत्मगौरवका साथ कार्य गर्न उहाँले निर्माण व्यवसायीहरूलाई सुझाव दिनुभयो । मुलुकको व्यवस्था फेरिए पनि अवस्था नफरेएिको बताउँदै उहाँले आफू समस्या देखाउने नभई समस्या समाधन गर्ने हिसाबले अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो । महासंघ अध्यक्ष रवि सिंहले उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल समक्ष निर्माण उद्योगलाई पनि कृषि तथा जलस्रोत क्षेत्र झै सहुलियत दिन आग्रह गर्नुभयो ।

महासंघ प्रतिनिधिमण्डलले शुक्रवार नै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई भेटी निर्माण उद्योगमा देखिएको भुक्तानी लगायतका समस्याहरूबारे जानकारी गराएको छ । जवाफमा मन्त्री दाहालले ‘लो बिडिङ’ का कारण निर्माण उद्योगमा धेरै जटिलता देखिएकाले कानून संशोधन गरेर भएपनि लो बिडिङको समस्या हल गरिने प्रतिबद्धता जनाउनुभयो । मुलुकमा हुने विकास निर्माणका हरेक काममा स्वदेशी व्यवसायीलाई नै प्राथमिकता दिने व्यवस्था राज्यले गर्ने मन्त्री दाहालले बताउनसभयो । निर्माण व्यवसायीहरूसँग आफ्नो निकट सम्बन्धमा रही निर्माण उद्योगमा देखिएका समस्या समाधान गर्न पहल गर्ने मन्त्री दाहालले बताउनुभयो । महासंघ प्रतिनिधिमण्डलले उपप्रधानमन्त्री एवं अर्थमन्त्री र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको सफल कार्यकालका लागि शुभकामना पनि व्यक्त गरेको छ ।

शुक्रबार​ ४ साउन २०८१ ०७:२६ PM मा प्रकाशित

प्रतिक्रिया