images

प्रदेश सरकार गठनका विषयलाई लिएर कांग्रेसभित्र असन्तुष्टि बढ्यो

काठमाडौं । केन्द्रमा नयाँ सत्ता समीकरण बनेसँगै प्रदेशमा पनि नयाँ समीकरण अनुसार सरकार निर्माण हुनेक्रम चलिरहेको छ । तर प्रदेशमा नयाँ सरकार गठनका विषयलाई लिएर नेपाली कांग्रेसभित्र असन्तुष्टि बढेको छ ।
सभापति शेर बहादुर देउवाले प्रदेश सरकार गठन र मन्त्रीहरुको नाम सिफारिस गर्नेक्रममा एकलौटी गरेको भन्दै बरिष्ठ नेता डा।शेखर कोइराला समूहले असन्तुष्टि व्यक्त गरेको छ । सरकार गठन र पठाउने मन्त्रीहरुका सवालमा देउवाले अहिलेसम्म कोइरालासँग कुनै प्रकारको सल्लाह र समन्वय नगरेको इतर समूहका नेताहरुले बताएका छन् ।
प्रदेश सरकार गठन र आफ्नो समूहको सहभागीताबारे हिजो २०८१ श्रावण ८ गते मंगलबार दिउसो बिशालनगरस्थित आफ्नो सम्पर्क कार्यालयमा बृहत अन्तरक्रिया गर्दै अन्य प्रदेशको सरकार गठनमा आफ्नो समूहलाई सल्लाह र समन्वय नगरे देउवाको एकल निर्णय अस्वीकार गर्ने चेतावनी दिएको छ ।
डा। कोइरालाले उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनसँग छलफल गरेका थिए । छलफलमा कोशीमा–२ वाग्मतीमा–३ गण्डकीमा २, लुम्बिनीमा, २, कर्णालीमा, १ र सुदुरपश्चिममा, १ जना मन्त्री आफ्नो समूहलाई दिनुपर्ने निष्कर्ष निकालेको थियो।
बैठक सकिएलगत्तै डा। कोइरालाले सभापति देउवालाई फोन गरेर आफ्नो समुहको धारणा सुनाउनुभएको कोइरालाको निजी सचिवालयले जानकारी दिएको छ । सचिवालय स्रोतले भन्यो, ‘कोइराला–देउवा संवादपछि अहिलेसम्म सभापतिबाट कुनै जवाफ आएको छैन । र विभिन्न प्रदेशमा भईरहेको सरकार गठनबारे सञ्चार माध्यममा आएका समाचारबाहेक कोइराला पुर्ण रुपमा बेखबर हुनुहुन्छ ।’
यता, कांग्रेसका महामन्त्रीद्वयले सभापति  देउवालाई लिखित ध्यानाकर्षण बुझाउने भएका छन् । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले सभापति देउवालाई भेटेर लिखित रूपमा विभिन्न विषयमा ध्यानाकर्षण गराउने तयारी गरेका हुन् ।
महामन्त्रीद्वयले मन्त्रिपरिषद् विस्तार गर्दा समावेशितालाई ख्याल नगरेको‚ विवादित र स्वार्थ बाझिने सांसदहरूलाई मन्त्री बनाएको विषयमा ध्यानाकर्षण गराउने तयारी गरेका हुन् ।
कोइराला समूहलाई वाइपास गर्दै देउवाले वुधबार बागमती र लुम्बिनीमा नयाँ समीकरण अनुसार गठन भएको सरकारमा एकलौटी रुपमा मन्त्रीहरुको नाम सिफारिस गरेका छन् । बागमती प्रदेशमा कांग्रेस नेता बहादुर सिंह लामाको नेतृत्वमा नयाँ मन्त्रिमण्डल बनेको छ भने लुम्बिनीमा एमालेका चेतनारायण आचार्यको नेतृत्वमा सरकार गठन भएको छ ।

बिहीबार १० साउन २०८१ ०९:३० AM मा प्रकाशित

प्रतिक्रिया