नेपालको लगातार दोस्रो जित, कुवेत सय रनमा समेटियो

काठमाडौं - आइसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । शनिबार भएको खेलमा मलेक क्रिकेट ग्राउण्ड अजमेनमा भएको खेलमा नेपालले कुवेतलाई २४३ रनले पराजित गरेको हो ।

नेपालले दिएको ३४४ रनको लक्ष्य पछ्याएको कुवेतले ३०.५ ओभरमा १०० रन बनाएर सबै विकेट गुमायो । कुवेतका जुड क्रिस्टोफरले २६ रन तथा हेट किशोरभाइ हिंसुले १६ रन र युसुफ सदिकले १९ रन बनाए । अन्य कुनै ब्याटरले दोहोरो रन बनाउन सकेनन । नेपालका आकाश चन्दले उत्कृष्ट बलिङ गर्दै ६ विकेट लिए । ९.५ ओभर बलिङ गरेका उनले ३८ रन दिए । यस्तै हेमन्त धामी र दिपेश कँडेलले २/२ विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा सात विकेटको क्षतिमा तीन सय ४३ रन बनाएको थियो।

विशाल रनको लक्ष्य प्रस्तुत गर्ने क्रममा नेपालका लागि अर्जुन कुमाल र कप्तान देव खनालले शतकीय पारी खेले। खनालले १२५ रन बनाए। उनले ११७ बल खेल्ने क्रममा तीन छक्का र नौ चौका प्रहार गरे।

यस्तै कुमालले १०८ रनको योगदान दिए। उनले ११२ बल खेल्दै १२ चौका हाने। यस्तै विशालविक्रम केसीले २३, दिपकप्रसाद डुम्रेले अविजित २० र दिपक बोहराले १९ रन बनाए।

बलिङतर्फ कुवेताका लागि आर्श साहिल र हेनरी थोमसले दुई/दुई तथा हैबर अली र जय मेहताले एक/एक विकेट लिए।

यसअघि नेपालले शुक्रबार भएको पहिलो खेलमा सिङ्गापुरलाई पराजित गरेको थियो। प्रतियोगितामा नेपालसहित कुवेत, युएई, हङकङ, सिङ्गापुर र मलेसिया सहभागी छन्।