नेपालको ऋण २२ खर्ब २१ अर्ब नाघ्यो, प्रतिव्यक्ति ७६ हजार एक सय ७७ ऋण

 काठमाडौँ - नेपालले तिर्न बाँकी सार्वजनिक ऋण रू २२ खर्ब २१ अर्ब ६७ करोड ८५ लाखभन्दा बढी पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७९र८० को अन्तसम्ममा नेपालले रू ११ खर्ब २८ अर्ब ३२ करोड ९२ लाख बराबर आन्तरिक र रू १० खर्ब ९३ अर्ब ३४ करोड ९३ लाख बराबर बाह्य ऋण तिर्न बाँकी रहेको देखिएको हो ।

गत आर्थिक वर्षमा मात्र नेपालको सार्वजनिक ऋण रू दुई खर्ब आठ अर्ब ३८ करोड २१ लाख थपिएको छ । अघिल्लो आर्थिक वर्ष २०७८र७९ को असार मसान्तसम्ममा यस्तो ऋण रू २० खर्ब १३ अर्ब २९ करोड ६४ लाख बराबर थियो । गत आर्थिक वर्षमा मात्र रू एक खर्ब ४० अर्ब ८७ करोड ९९ लाख बराबर आन्तरिक र रू ६७ अर्ब ५० करोड २२ लाख बराबर बाह्य ऋण थपिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

साँवा–ब्याजको दायित्व पुँजीगत खर्चकै हाराहारी

गत आर्थिक वर्ष २०७९र८० मा नेपालको पुँजीगत खर्च रू दुई खर्ब ३३ अर्ब ६९ करोड बराबर हो । सार्वजनिक ऋणको साँवा ब्याज भुक्तानीमा गतवर्ष सरकारले गरेको खर्च पनि विकास खर्चकै हाराहारी छ ।

गत वर्षमा ऋणको साँवा ब्याज भुक्तानीमा सरकारले रू दुई खर्ब २२ अर्ब ७४ करोड २१ लाख खर्च गरेको छ । जसमध्ये, आन्तरिक ऋणको साँवा–ब्याज भुक्तानी रू एक खर्ब ७९ अर्ब ७२ करोड ५३ लाख र बाह्य ऋणको साँवा ब्याज भुक्तानीमा रू ४३ अर्ब एक करोड ६८ लाख बराबर खर्च भएको छ ।