रेशम विरहीकाे ‘कली’देखि सिग्देलकाे ‘एकमात्र’सम्म

‘साताका पुस्तक’ स्तम्भअन्तर्गत नयाँ तथा पुराना कृतिहरुलाई समेट्दै कृति तथा स्रष्टालाई साहित्यका पाठकसम्म पुर्याउने हाम्रो उद्देश्य हो । आगामी दिनमा पाठक तथा स्रष्टाहरुको सहयोगले यस स्तम्भलाई थप सशक्त रुपमा अगाडि बढाउन सकिने विश्वास लिएका छौँ ।

हाम्रो उद्देश्य, साताभरिमा प्रकाशनमा आएका साहित्यिक पुस्तकहरुलाई यस विधामा समेट्नु हो । हामी चाहन्छौँ – नेपाली साहित्यअन्तर्गत प्रकाशनमा आएका कुनै पनि पुस्तक नछुटून् । तर पुस्तकको उपलब्धता नहुँदा केही छुट्ने गरेका छन् । प्रकाशक तथा लेखकहरु सम्भव भएसम्म आफ्ना नवीनतम साहित्यिक कृतिहरु साहित्यपोस्टको कार्यलयमा उपलब्ध गराइदिनुहुन अनुरोध गर्दर्छौं ।

यसैक्रममा ‘साताका पुस्तक’मा यो साता सात पुस्तक । रेशम विरहीकाे ‘कली’देखि सिग्देलकाे  ‘एकमात्र’सम्म; पुस्तककाे छाेटाे परिचयसहित ।

===

१. स्वर्गबाट वितृष्णा जागेपछि— होम सुवेदी

प्रसिद्ध साहित्यकार एवं कवि होम सुवेदीको लघुकाव्य हो— “स्वर्गबाट वितृष्णा जागेपछि” । यसमा ‘स्वर्गबाट अझ विरक्त’, ‘कविशिरोभणिसँग भेट र उहाँसँग संवाद’ लगायत ९ थान लघुकाव्य सङ्ग्रहित छन् ।

“अधिकांश छन्दका ज्ञाता एवं छन्द-पारखी कवि होम सुवेदीले यस खण्डकाव्यमा उपजाति र भुजङ्प्रयात नामका दुई छन्द मात्र प्रयोग गर्नुभएको छ । यस पङ्क्तिकारका विचारमा अधिकांश पाठकलाई बुझेर पढ्न र गाउन सरल र सहज होस् भनेर उहाँले यसो गर्नुभएको हुनसक्छ । वास्तवमा पठन गायनका दृष्टिले यी दुई वटा छन्द सिकारुका निमित्त उपयुक्त मानिन्छन् । वर्ण्यवस्तुको सहज तथा सरल अभिव्यक्तिगत काव्यप्रवाहका निमित्त प्रयोग गरिएका यस किसिमका सरल र सुन्दर छन्दले काव्य रोचक तथा बोधगम्य बनेको छ ।” भूमिकामा कोमलप्रसाद पोखरेल लेख्छन्, “…यस काव्यमा पनि कवि सुवेदीले स्वर्गलाई भोगविलास गर्ने थलाका रूपमा चित्रण गरेर त्यसको तुच्छता सिद्ध गर्नुभएको छ । उहाँले काल्पनिक स्वर्गको वर्णन गरेर काठमाडौँ सिंहदरबार तथा भोगविलासमा स्वर्गसम्मान मानिने अमेरिका, जापान, इङ्ग्लयान्डजस्ता देशहरूप्रति व्यङ्ग्य गुर्नुभएको छ । यो उहाँको निजी स्वभाव हो ।”

पुस्तकलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । ८६ पृष्ठमा फैलिएको पुस्तकको मूल्य २ सय रुपियाँ रहेको छ ।

 

२. नथाकेको घाउ— तारा गाउँले

लेखक तारा गाउँलेको कथासङ्ग्रह हो— “नथाकेको घाउ” । यसमा “बुथुराको व्यथा, घोडा, सेते, आमा, नथाकेको घाउ, पृथ्वी अझै चेप्टै छ, विस्थापन, स्खलन, ख्यालख्यालको मान्छे र मेरो गाउँको कथा” गरी १० थान भावपूर्ण  कथाहरू समावेश छन् ।

“मेरो जीवन पनि यस्तै आरोह-अवरोहका अनेकन समयलाई झेल्दै अहिलेको अवस्थामा छु । यो कथा सङ्ग्रहका एउटा कथा छोडेर प्रायः सबै कथा २०४८ सालमा नै छाप्न तयार पारेको थियो । कृषि कार्यालय झापामा कार्यरत मेरो आत्मीय मित्र अमरराज शर्माले यो कथा सङ्ग्रह प्रकाशन गरिदिने वचन दिनुभएको थियो । तर २०४८ सालको कर्मचारी आन्दोलनले हाम्रो इच्छा पूरा हुन पाएन ।” भूमिकामा तारा गाउँले लेख्छन्, “कथासङ्ग्रहको पाण्डुलिपि धुलोको सिरक ओढेर मस्त निद्रामा पर्यो । यो सङ्ग्रह प्रायः सबै कथा पञ्चायती कालमा लेखिएको हुँदा यसमा त्यही समयको जिउँदो तस्बिर छ । यो सङ्ग्रहभित्र पारेका कथाहरू एक दुई छोडेर सबै प्रकाशित भै सकेका कथा हुन् । त्यो समयलाई बुझ्न र अहिलेको समयसँग त्यसको तुलना गरेर पढ्न पनि सकिन्छ । कथाभित्रका पात्र सबै मैले देखे-भेटेका र भोगेका पात्रहरू हुन् ।”

पुस्तकलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । १ सय २८ पृष्ठमा फैलिएको पुस्तकको मूल्य २ सय ५० रुपियाँ रहेको छ ।

 

३. भागवत सारतत्त्व समीक्षा— डा. प्रेमप्रसाद चौलागाईं

पाश्चात्त्य एवम् पूर्वीय वाङ्मय दर्शनका विशिष्ट विद्वान डा. प्रेमप्रसाद चौलागाईंको समीक्षा कृति हो— “भागवत सारतत्त्व समीक्षा” । उक्त समीक्षा कृति स्वामी डा. रामानन्द गिरिद्वारा रचित ‘श्रीमद्भागवत महापुराण, नेपाली अनुवाद, रामानन्दी टीका’को विवेचनाका माध्यमबाट भागवतको सारतत्त्व प्रस्तुत गरिएको कृति हो । पुस्तकमा  ‘उपक्रम’,  ‘टीकासम्बन्धी सैद्धान्तिक पर्याधार’लगायत  ‘उपसंहार’ र सन्दर्भ सामग्री समावेश छन् ।

“पौरस्त्य वाङ्मयको परम्परामा प्रशस्त टीकाग्रन्थ रचिए पनि कृतिसमीक्षाको उत्कृष्ट विधाका रूपमा रहेको यस विधाको सैद्धान्तिक आधारका सन्दर्भमा भने उल्लेख गरिएको पाइँदैन । यस सन्दर्भमा टीकाको सैद्धान्तिक आधार तयार पार्नु पनि यस कृतिको उल्लेख्य उपलब्धि हो । यस कृतिमा पौरस्त्य वाङ्मय परम्परामा रचित टीकाग्रन्थको सर्वेक्षणात्मक समीक्षण गरी तिनमा प्रयुक्त वैशिष्ट्यको विश्लेषणका साथै यसका समकक्षी विधाका रूपमा रहेका वृत्ति, वार्तिक, भाष्य, भाष्यविज्ञान र आधुनिक समालोचनासँग यस विधाको तुलनासमेत गरी प्राप्त भएका वैशिष्ट्यका आधारमा टीकाका सैद्धान्तिक आधार तयार पारिएको छ । सोही सैद्धान्तिक आधारमा भागवत, रामानन्दी टीकाको विश्लेषण गरी मूल्याङ्कनसमेत गरिएको छ । यसैले यो समीक्षा कृति भागवतका विविध विषयमा अनुसन्धान गर्न चाहने शोधार्थीका लागि समेत सङ्ग्रहणीय बनेको छ ।”

पुस्तकलाई सविता भण्डारी चौलागाईंले प्रकाशनमा ल्याएका हुन् । १ सय ९८ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ४ सय रुपियाँ रहेको छ ।

===

४. कली— रेशम विरही

कविता, निबन्ध र उपन्यासमा सार्थक हस्तक्षेप गरिरहेका अविश्रान्त सर्जक रेशम विरहीको उपन्यास हो- “कली” । पुस्तकलाई उपोद्घात, नारानदत्तको असली चेहरा जस्ता उपशीर्षकहरूबाट तयार पारिएको छ ।

विमल निभा लेख्छन्, “मित्र रेशम विरहीको साहित्यिक परिश्रमलाई मान्नैपर्छ । ६ वटा कवितासङ्ग्रह, दुइटा निबन्धसङ्ग्रह र एउटा उपन्यास कृतिमा अर्को एउटा उपन्यास थपिएको छ । रचनाकारको सङ्ख्यात्मक उपलब्धिको गणना गर्ने मेरो आशय होइन । अपितु, रेशमको आख्यानात्मक समझ र सामर्थ्यलाई यस पुस्तकले दह्रोसँग स्थापित गर्ने छ भन्ने मेरो जिकिर हो । नेपाली साहित्यको पर्यावरणमा सामान्यजनलाई महत्वपूर्ण कलेवर प्रदान गर्न यस उपन्यासले सफलता प्राप्त गरोस् । बधाई मित्र ।”

“कलिकी कलीको कथा ! अर्थात वर्तमानकी गुलाफकलीको कथा । कथा गुलाफकलीको मात्र होइन, रत्नाकलीको पनि हो । रत्नाकली मात्र होइन, अरूको पनि हो । ‘कली’ कथा ती सबैको हो जो समय, समाज, सामाजिक सङ्घर्ष र राजनीतिक आन्दोलनसँग जोडिएका छन् ।” कभर पृष्ठमा शार्दूल भट्टराई लेख्छन्, “उपन्यासकारको यसअघिको उपन्यास ‘प्रेमदासको डायरी’ जस्तै यो पनि राजनीतिक उपन्यास हो । अनेक आवरणका राजनीतिक मानिसहरू उपनयासमा छन् । कोही सजिलै चिन्न सकिने, कोही चिन्नै गाह्रो ! को के गर्छ र कसको सम्बन्ध कहाँ छ, बुझ्नै कठिन ! राजनीतिका तिनै पात्रहरूको आपसी सम्बन्ध, सहकार्य र द्वन्द्वका अनेक चक्रहरूमा बुनिएको छ यो उपन्यास । मर्मस्पर्शी उपकथाको सङ्ग्रहले उपन्यासलाई रोचक बनाएको छ । राजनीतिक उपन्यासका दृष्टिले रेशम विरहीको यो अर्को दबिलो उपन्यास हो ।”

पुस्तकलाई शिखा बुक्सले प्रकाशनमा ल्याएको हो । ३ सय ४ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ५ सय ५० रुपियाँ रहेको छ ।

===

५. मेरो रिमरिमे सम्झना— प्रा. पीताम्बर शर्मा दाहाल

नेपाली काँग्रेसका एक प्रतिवद्ध व्यक्तित्व, कवि, लेखक प्रा. पीताम्बर शर्मा दाहालको संस्मरणात्मक चम्पू ग्रन्थ हो— “मेरो रिमरिमे सम्झना” । पुस्तकमा १०७ थान शीर्षकबाट पीताम्बरका व्यक्तिगत, पारिवारिक, राजनैतिक सङ्घर्षका विविध रोचक र रोमाञ्चक सन्दर्भहरू पाइन्छ । यसमा गद्यपद्य मिश्रित चम्पू काव्यको झलक पाइन्छ ।

भूमिकामा सभापति, नेपाली काँग्रेस लेख्छन्, “मनसा कर्मणा वाचा नेपाली काँग्रेसमा संलग्न प्राध्यापक पीताम्बर शर्मा दाहालले आफ्नो जीवनको पृष्ठभूमिमा सिङ्गो नेपाली काँग्रेसको ऐतिहासिक वस्तुतथ्य विश्लेषणपूर्वक तयार पार्नु भएको ‘मेरो रिमरिमे सम्झना’ संस्मरणात्मक चम्पू ग्रन्थ प्रकाशनले म र मेरो नेपाली काँग्रेस गौरवान्वित भएको छ । साथै भोलि जन्मेका नेपाली काँग्रेसको दर्शनलाई आफ्नो जीवन दर्शन बनाउने भावी पिँढीले समेत यस ग्रन्थबाट जीवनको आलोक प्राप्त गर्नेछन् भन्ने मेरो धारणा छ ।”

भूमिकामा प्रकाशमान सिंह लेख्छन्, “हाम्रो गन्तव्य र मान्यताको शिखर एउटै हो तर उहाँ अग्रज म अनुज । उहाँ लेखक, साहित्यकार र म पाठक । अहिले उहाँबाट सृजित रचित ‘मेरो रिमरिमे सम्झना’ संस्मरणात्मक चम्पू ग्रन्थ मार्फत उहाँले दिनुभएको सन्देश, राख्नुभएको विवरण र भन्नुभएको कथा एवं पोख्नु भएको व्यथा हामी सबैकोे साझा गाथा हो । यसका लागि उहाँ धन्य धन्य मानिनुहुन्छ । देखेर र सुनेको कुरा लेख्न सक्नु, लेखेको कुरा सबै र सधैँका लागि हुन सक्नु र विद्वान साहित्यकार हुनु आफ्ना नितान्त पुरुषार्थका कुरा हन्, यस पक्षमा प्राध्यापक श्री पीताम्बर शर्मा दाहाल आदरणीय र उल्लेखनीय हुनुहुन्छ ।”

पुस्तकलाई सुमनराज ढुङ्गेल तथा प्रियङ्गुरानीले प्रकाशनमा ल्याएका हुन् । ६ सय १ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ९ सय रुपियाँ रहेको छ ।

===

६.अभिव्यञ्जना यात्राप्रति— गोपी मैनाली

समालोचना विधाका लोकप्रिय साहित्यकार गोपी मैनालीको दास्रो समालोचना कृति हो— “अभिव्यञ्जना यात्राप्रति” । यस सङ्ग्रहमा नेपाली साहित्यका अधिकांश शीर्षस्थ र स्थापित स्रष्टाहरूमध्ये तीसजनाभन्दा बढीका कृतिका समालोचना रहेका छन् । यसमा ‘महाकवि देवकोटा : अलौकिक पात्र कि असाधारण प्रतिभा ?’, ‘अनिदो आँखामा समाज र जीवन’लगायत ३२ थान शीर्षक समावेश छन् ।

“गोपी मैनालीका दृष्टिमा कृतिको असल पाठक र कृतिकारको उपयुक्त मूल्याङ्कन कर्ता समालोचक नै हुने हुँदा समालोचकमा अध्ययनशीलता चिन्तन प्रवाह र नवोन्मेषका विशिष्ट क्षमता हुनुपर्दछ ।” भूमिकामा बाजुराम पौडेल लेख्छन्, “यस सङ्ग्रहभित्र रहेका उनका समालोचनामा यी तत्त्वहरू कहीँ छुट्दैनन् बरु गाँसिँदै अघि बढ्छन् । स्रष्टाका भाव र भावना अल्मलिएका स्थानमा त्यसमा गति र प्रवाह थप्नका लागि समालोचक गोपी मैनाली उद्बोधन र नवोन्मेषका मार्ग खोलिदिन्छन् । आलोचना वा गुण र दोषमा मात्र सीमित हुनु गोपी मैनाली समालोचनाको धर्म मान्दैनन् । न्यायपूर्ण उत्साह सिर्जनाले प्राप्त गर्नुपर्दछ भन्ने भनाइजस्तै उनले आफ्नो समालोचनात्मक प्रवृत्तिको आधार बनाएको प्रष्ट हुन आउँछ । यसरी उनी समालोचकीय प्रवृत्तिमा मूल्य, प्रभाव र कलावादीका रूपमा चिनिन्छन् ।”

पुस्तकलाई सुरभि साहित्य प्रतिष्ठानले बजारमा ल्याएको हो । २ सय ६० पृष्ठमा फैलिएको पुस्तकको मूल्य ५ सय ५० रुपियाँ रहेको छ ।

===

७. एकमात्र— हरिभक्त सिग्देल “महेश”

चालीसभन्दा बढी पुस्तकका लेखक, अध्यात्मिक चिन्तक हरिभक्त सिग्देल “महेश”को कृति हो— “एकमात्र” । ‘विवेचनानुक्रम’, ‘शुभारम्भ’ लगायत पाँचौँ खण्डमा विभाजित प्रस्तुत पुस्तक विश्वका प्रमुख चार धर्मका विषयलाई गम्भीर परिशालीन गर्ने प्रयत्न गरिएको छ ।

“धर्म आफैँमा अस्वाभाविक, अप्राकृतिक र अवैज्ञानिक होइन । धर्म विभिन्न सम्प्रदायका अनुयायीहरूले तुलना गरेजस्तोे ठूलो वा सानो पनि होइन । धर्मको सही माने र मर्म सरल तरिकाले प्रस्ट पार्ने र सबैलाई ग्राह्य बनाउने आजको सबभन्दा ठूलो चुनौती भएको छ ।”  डा. वीरेन्द्रप्रसाद महतो लेख्छन्, “हरिभक्त सिग्देलले लेख्नुभएको ‘एकमात्र’ नामक यो कृति समग्रमा सम्पूर्ण धर्म सम्प्रदायको सार बुझ्न चाहनेहरूका लागि अद्वितीय संस्करण बन्न सक्छ । यो कृति सामान्य धार्मिक कृति मात्रै नभई लेखकले हालसम्म गर्नुभएको आध्यात्मिक चिन्तन एवं विश्वमा रहेका अनेक धर्म र सम्प्रदायका धार्मिक ग्रन्थहरूको निचोड पनि हो भन्ने मलाई लाग्छ ।”

‘विवेचनानुक्रम’मा विनयकुमार शर्मा नेपाल लेख्छन्, “हो, साहित्यकार हरिभक्त सिग्देलजीले समभावले केही कुरा बुझेर नै ‘एकमात्र’को ठेली तयार गरेको हुनुपर्छ । सबका ईश्वर एक अर्थात् सिङ्गो ब्रह्माण्ड र त्यसको संरचनाको स्रोत एक भलै विभिन्न तप्काका अध्यात्मवादीहरू, दर्शनवादीहरू र वैज्ञानिकहरूका दृष्टिले त्यसको नाम जे जे र जो जो दिऊन् । एकै कृतिभित्र बुद्ध, क्रिस्चियन, इस्लाम र सनातन वा वैदिक हिन्दूधर्मका विन्दुहरूलाई समेटेर सबै ‘एकमात्र’ हो अर्थात् सबैको सार वा चुरो एकै हो भन्ने जनाउ दिन्छन् ।”

पुस्तकलाई मीना सिग्देल (उप्रेती)ले प्रकाशनमा ल्याएका हुन् । ५ सय १२ पृष्ठमा फैलिएको पुस्तकको मूल्य १५ सय रुपियाँ रहेको छ ।