जंगबहादुर र अन्य प्रसङ्ग सहितको किताब प्रकाशित

 

काठमाण्डौँ  -नेपालको पहिला राणा प्रधानमन्त्री जंगबहादुर राणाले आफ्ना बेलायती कूटनीतिज्ञ साथी ब्रायन हड्सनलाई भारतमा सन् १८७५ मा भएको सैनिक विद्रोहपछि लेखेको चिठ्ठी र अन्य इतिहासका प्रसङ्ग सहितको किताब प्रकाशित भएको छ ।

शिखा बुक्सले प्रकाशन गरेको उक्त किताबको नाम ‘तीन फरक विषय: फोकल्याण्ड युद्धका सिपाही, पहिलो विश्व युद्धका चिठी र उनै जंगबहादुर’ रहेको छ ।

किताबका पहिलो अध्यायमा फोकल्याण्ड युद्ध लडेका सिपाहीको युद्ध अनुभव रहेको छ । यसमा शंकर राई, सुक्रिम राई, जंगबहादुर गुरुङ र अन्यले युद्धका कथा भनेका छन् ।

फोकल्याण्ड युद्ध लडेका शंकर राई युद्धको केही वर्षपछि बर्खास्तीमा परेका थिए । शंकर लगायत अन्य ११० जनालाई अनुशासन उल्लंघन गरेको आरोपमा बर्खास्त गरिएको थियो जसलाई ‘हवाई काण्ड’ भनिन्छ । सुक्रिम राईले अर्जेण्टिनामा विपक्षीलाई बन्दी बनाएका थिए ।

किताबको दोस्रो अध्यायमा पहिलो विश्वयुद्ध लडेका नेपाली मूलका सिपाहीका चिठ्ठी रहेका छन् । चिठ्ठीमा उनीहरूले लडाईंका बारेमा लेख्न नपाइने र आफूहरूले दु:ख पाएको लेखेका छन् ।

तेस्रो अध्यायमा जंगबहादुरका केही नयाँ प्रसङ्ग, उनको समयका केही चिठ्ठीपत्र र उनी आफैँले लेखेका चिठ्ठी समेटिएका छन् ।

किताब श्रीभक्त खनाल र खेमराज राजाभाटले संयुक्त रुपमा लेखेका हुन् । लेखकद्वय बेलायतमा रहेका व्यावसायिक पत्रकार हुन् । दुवै जनाले नेपाल पत्रकार महासंघ बेलायत शाखाले प्रदान गर्ने ‘वर्ष पत्रकारिता पुरस्कार’ प्राप्त गरेका छन् ।

शिखा बुक्सका पुष्पराज पौडेलका अनुसार केही समयपछि बेलायतमा एक कार्यक्रमका साथ यो पुस्तक लोकार्पण गरिने छ ।