राष्ट्र बैंकद्वारा मौद्रिक नीति सार्वजनिक, बैंकदर यथावत, नीतिगत दर घट्यो

काठमाडाै - नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गरेको छ ।

नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले चालू आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति पारित गरेको हो ।आज आइतबार बिहानदेखि बसेको बैठकले मौद्रिक नीति पारित गरेको हो । मौद्रिक नीति पारितसँगै वेब साइटमार्फत सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको मौद्रिक नीतिले नीतिगत दर घटाएर ६.५ प्रतिशत कायम गरेको छ ।

आन्तरिक तथा बाह्य आर्थिक परिदृश्यलाई दृष्टिगत गरी नीतिगत दरलाई ५० आधार विन्दुले घटाई ६.५ प्रतिशत कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । हाल यो दर ७ प्रतिशत रहँदै आएको थियो । यस्तै राष्ट्र बैंकले बैंकदरलाई ७.५ प्रतिशतमा यथावत राखी निक्षेप संकलन बोलकबोल दरलाई ५.५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम गरेको छ । नीतिगत दर घटेपछि बैंकहरुले राष्ट्र बैंकमार्फत लिने अल्पकालीन सापटीमा लागत कम पर्न जानेछ र ब्याज घटाउन बैंकहरूलाई दवाव पुग्नेछ ।

यसैगरी राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत घरजग्गा कारोबारमा यसअघिको नीतिलाई निरन्तरता दिएको छ । यसअघि अघिल्लो आर्थिक वर्षको मौद्रिक नीतिले घरजग्गा धितोमा कर्जा लिँदा फेयर बजार मूल्यको अनुपातमा काठमाडौं उपत्यकाभित्र बढीमा ३० प्रतिशत र अन्य स्थानमा बढीमा ४० प्रतिशतसम्म मात्रै लिन पाइने व्यवस्था गरेको थियो । चालु आर्थिक वर्षको मौद्रिक नीतिमा पनि यो नीतिमा कुनै परिवर्नत गरिएको छैन । घरजग्गा व्यवसायलाई अनुत्पादक मान्दै राष्ट्रबैंकले यसमा जाने कर्जामा कडाइ गर्दै आएको छ । घरजग्गा व्यवसायीहरुले घर जग्गा धितोमा कर्जा सीमा ७० प्रतिशत पुर्‍याउन माग गरेका थिए । तर, राष्ट्र बैंकले यसमा नीतिगत रुपमा कुनै सहुलियत दिएन । तर, पहिलो घर खरिद गर्ने सर्वसाधारणलाई भने मौद्रिक नीतिले केही सहुलियत दिएको छ ।