images

भारतले सेमिफाइनल खेल्ने सम्भावना बलियो, पराजित बंगलादेश अन्तिम आठबाट बाहिरियो 

काठमाडौं । आइसिसी टी– २० विश्वकपअन्तर्गत ‘सुपर–८’मा भारतले लगातार दोस्रो जित निकालेको छ । यो सँगै भारतले सेमिफाइनल खेल्ने सम्भावना बलियो बनेको छ । 
शनिबार राति सम्पन्न खेलमा भारतले बंगलादेशलाई ५० रनले पराजित गरेको हो। 
भारतले दिएको १ सय ९७ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १ सय ४६ रनमा समेटियो । 
बंगलादेशका कप्तान नजमुल शान्तोले सर्वाधिक ४० रनको पारि खेले । तन्जिद हसनले २९, रिशाद हुसेन २४, लिटनकुमार दास र महमुदउल्लाहले समान १३ जोड्दा शाकिब अल हसनले ११ रन बनाए । 
भारतका कुलदीप यादवले सर्वाधिक तीन विकेट लिए। यस्तै, अर्शदीप सिंह र जसप्रीत बुमराहले समान दुई विकेट लिँदा हार्दिक पाण्ड्याले एक विकेट निकाले । 
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ५ विकेट गुमाएर १९६ रन बनाएको थियो । भारतका लागि ब्याटिङतर्फ हार्दिक पाण्डेयले जारी विश्वकपमा आफ्नो पहिलो अर्धशतकीय पारी खेले। २७ बलको सामना गरेका उनले १९औँ ओभरको अन्तिम बलमा चौका प्रहार गरी ५० रन पूरा गरेका थिए । 
यस्त्ै, विराट कोहलीले ३७,शिवम दुबे ३४, ऋषभ पन्त ३६, कप्तान रोहित २३ र सुर्यकुमार यादवले ६ रन बनाए। अक्षर पटेलले अविजित ३ रन बनाए । 
बलिङतर्फ बंगलादेशको लागि तान्जिन साकिब र रिशाद हुसेनले समान दुई – दुई विकेट लिँदा शकिब अल हसनले एक विकेट लिए । 
शनिबारको खेलमा पराजित बंगलादेशसुपर एटबाटै बाहिरिएको छ। 
 

आइतबार​ ९ असार २०८१ ०६:३९ PM मा प्रकाशित

प्रतिक्रिया