जब लाग्छ बर्खा तब तात्छन् ठेकेदार

 काठमाण्डौँ - आकाशमा कालो बादल मडारिरहेका छ । सडकमा अलकत्रा खसालिँदैछ । वैकल्पिक राजमार्ग साँखु फटकेश्वर-सहायक बाहुनिपाटी सडकमा दोस्रो लेयरको कालोपत्रे हुँदै गर्दा सर्वसाधारणको अनुहारमा पनि अन्योलको कालो देखिन्छ ।

पानी परे पिच बिग्रन्छ । सडकमा पोखिएको अलकत्रा र आकाशको कालो बादल देखाउँदै शंखरापुरका नरेश श्रेष्ठ भन्छन्, यही बर्खामा काम नसके ठेकेदारको हिसाब विग्रन्छ ।

शंखरापुरको जस्तै कथा गोकर्णेश्वरमा पनि देखिन्छ । मनसुन सुरु भएसँगै गोकर्णेश्वर नगरपालिका १ नयाँपाटी पुल क्षेत्रमा कालोपत्रका लागि अलकत्रा हालिएको छ । शनिबार बेलुका निर्माण व्यवसायीले अलकत्रा हाल्यो तर त्यही रात ठुलो पानी परेपछि अलकत्रा बग्यो ।

जोरपाटी गोकर्ण सुन्दरीजल सडक विस्तार सुरु भएको आठ वर्षपछि कालोपत्रेको काम सुरु गरिए पनि बर्खा लागिसकेकाले स्थानीय दुःखी छन् । ुआठ वर्षदेखि अलपत्र काम बल्ल सुरु भएको छ, त्यो पनि बर्खा लागेपछि गोकर्णेश्वर नगरपालिकाका मोहन घिमिरे भन्छन्, पिच त हुने भयो तर कति दिन टिक्ने हो, कुनै ठेगान छैन ।

संघीय सरकारले आयोजनाको ठेक्का सम्झौता गरेकाले निर्माण व्यवसायीले स्थानीय सरकारलाई नटेर्दा सडक जीर्ण बन्दै गएको गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता नारायणबहादुर सुवेदी बताउँछन् । आर्थिक वर्ष २०७५र७६ मा सक्ने गरी २०७२ सालमा ठेक्का भएको सात किलोमिटर सडक आठ वर्षदेखि अलपत्र छ । यो समाचार नागरिक दैनिकमा छ ।