नेपाल र ईयूबीच साढे १० अर्बको अनुदान सम्झौता

काठमाण्डौँ - दुई वटा छुट्टाछुट्टै कार्यक्रमका लागि नेपाल र यूरोपेली युनियन ईयू बीच साढे १० अर्बभन्दा बढीको अनुदान सम्झौता सम्पन्न भएको छ ।

अर्थ मन्त्रालयमा बिहीबार आयोजित एक कार्यक्रममा नेपालको शिक्षा र वातावरण क्षेत्रमा खर्च गर्ने गरी अनुदान सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । ‘सबैका लागि गुणस्तरीय शिक्षा क्वालिटी एजुकेशन फर अल कार्यक्रम’ र ‘स्थानीय स्तरमा जलवायु परिवर्तन अनुकूलन लोकल एडप्सन टु क्लाइमेट चेन्ज कार्यक्रम’ का लागि अनुदान सम्झौता भएको हो । 

सबैका लागि गुणस्तरीय शिक्षा कार्यक्रम अन्तर्गत विद्यालय शिक्षा क्षेत्र योजना कार्यान्वयनका लागि पाउन्ड स्टर्लिङ पाँच करोड अर्थात् सात अर्ब ३८ करोड रुपैयाँ बराबरको अनुदान सम्झौता भएको छ भने लोकल जलवायु सम्बन्धी कार्यक्रमका लागि पाउन्ड स्टर्लिङ दुई करोड २० लाख अर्थात् तीन अर्ब २५ करोड रुपैयाँ बराबरको सम्झौता भएको हो ।

यी दुवै कार्यक्रमका लागि पाउन्ड स्टर्लिङ सात करोड २० लाख अर्थात् १० अर्ब ५३ करोड रुपैयाँ बराबरको अनुदान नेपालले ईयूबाट पाउनेछ ।