यू-१९ विश्वकप छनोट टोलीको कप्तानमा देव खनाल

काठमाण्डौँ - बिहीबारदेखि यूएईमा हुने यू १९ विश्वकप एसिया क्षेत्रको छनोटका लागि नेपाली टोलीको कप्तानी युवा ब्याटर देव खनालले गर्ने भएका छन् । 

यसअघि टोलीको कप्तानको जिम्मेवारी गुलशन झालाई दिइएको थियो । तर गुलसन राष्ट्रिय टोलीबाट लिग २ खेल्ने भएपछि उनको स्थानमा देवलाई कप्तानको जिम्मेवारी दिइएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। 

गुलसनको स्थानमा यू १९ टोलीमा आकाश चन्दलाई समेटिएको छ । बिहीबारदेखि यूएईमा हुने यू १९ विश्वकप एसिया क्षेत्रको लागि नेपाली टोली बुधबार यूएईतर्फ प्रस्थान गर्दैछ । 

नेपाली टोलीले १२ गते सिंगापुरसँग पहिलो खेल खेल्नेछ । १३ गते कुवेतसँग तथा १५ हङकङसँग खेल्ने तालिका छ । १६ गते मलेसियासँग तथा १८ गते अन्तिम खेलमा यूएईसँग खेल्नेछ । प्रतियोगिताको शीर्ष स्थानमा रहने टोलीले सन् २०२४ मा श्रीलंकामा हुने यू १९ विश्वकप खेल्न पाउनेछ ।