images

समाचार रोक्न नसकेर राज्यशक्ति दुरुपयोग: सिरोहिया  

काठमाडौं । आफूविरुद्ध पक्राउ पुर्जी जारी गरिनुलाई कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाशप्रसाद सिरोहियाले समाचार रोक्न राज्य शक्तिको दुरुपयोग गर्दै विषयान्तरको दबाबका रुपमा लिएका छन् ।  
नागरिकताका विवरण फरक रहेको समाचार आइरहँदा सिरोहियालाई पक्राउ गर्न धनुषा जिल्ला अदालतले सोमबार प्रहरीलाई अनुमति दिएको हो । जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले नागरिकता किर्ते प्रकरणमा सिरोहियालाई पक्राउ गरि अनुसन्धान गर्न अनुमति दिएको धनुषा प्रहरीले जनाएको छ । 
सिरोहियाको नागरिकताबारे केही सञ्चारमाध्यममा समाचार आएका थिए । उनले सञ्चालन गर्दै आएका कम्पनीपिच्छे अलग अलग नागरिकता नम्बर प्रयोग गरेको भन्दै समाचार प्रकाशन भएपछि धनुषा प्रहरीले अनुसन्धान थालेको थियो । 
सिरोहियाका बाबु घासीराम माडवारी अंगीकृत नागरिक भए पनि सिरोहियाले भने वंशजको नागरिकता प्रमाण नै सार्वजनिक भएका थिए । 
कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष समेत रहेका कैलाश सिरोहियाले नागरिकताको विषयमा जिल्ला अदालत धनुषाबाट जारी पक्राउ पुर्जीलाई संस्थासँग जोडेका छन् ।
कान्तिपुर दैनिकले सहकारीको रकम अपचलन आरोपमा उपप्रधान एवं गृहमन्त्री रवि लामछिानेलाई छानबिनको दायरामा ल्याउन दबाब पुग्नेगरि लगातार समाचार प्रकाशित गर्दै आएको छ । पक्राउ पुर्जी जारी हुनुलाई समाचार रोक्ने नियत रहेको सिरोहियाको ठहर छ ।
विज्ञप्ति जारी गर्दै सिरोहियाले कान्तिपुरमा प्रकाशित समाचारलाई लिएर सरकारले राज्य शक्तिको दुरुपयोग गरेको प्रतिक्रिया दिएका छन् । 
‘सहकारीका ७१ लाख सदस्य तथा बचतकर्ताको पसिनाको कमाइ सुरक्षित गर्न यसमा ठगी गर्नेहरूमाथि अनुसन्धान र कारबाही हुनुपर्ने आवाज उठाउनु कुनै पनि सञ्चारमाध्यमको जिम्मेवारी हो । कान्तिपुरको समाचार रोकाउन ब्ल्याकमेलिङ गर्न र मूल मुद्दा विषयान्तर गर्न मेराविरुद्ध आफैं उजुरी गर्न लगाएर, सोधपुछसमेत नगरी पक्राउ पुर्जी जारी गर्ने हर्कत गरिएको हो भन्नेमा शंका छैन,’ उनको विज्ञप्तिमा छ । 
कान्तिपुरको समाचार रोक्ने ब्ल्यामेलिङ गर्न र मूल मुद्दा विषयान्तर गर्न आफूविरुद्ध पक्राउ पुर्जी जारी गरिएको सिरोहियाको भनाइ छ । 
सिरोहियालाई कांग्रेसको साथ 
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई भेट्न थापाथलीस्थित कार्यालयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरूको लस्कर लागेको छ । 
नागरिकता  किर्ते प्रकरणमा जिल्ला अदालत धनुषाबाट मंगलबार पक्राउ पुर्जी जारी भएपछि कांग्रेसका झण्डै दर्जन  बढी नेताहरू थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालयमा पुगेर सिरोहियासँग संवाद गरेका हुन् । 
सिरोहियालाई भेटेर फर्किएका कांग्रेस नेता रामहरि खतिवडाले आफूसहित करिब २० जना सांसदहरू त्यहाँ पुगेको पुष्टि गरे ।
उनले पूर्व परराष्ट्रमन्त्री एनपी साउदसँगै सांसदहरू दीपक गिरी, वीरबहादुर बलायर, प्रतिमा गौतम, रामनाथ अधिकारी, राजु थापा, चन्दा चौधरी र राजेन्द्र बजगाईँलगायत नेताहरू सिरोहियालाई साथ दिन पुगेको पनि बताए ।
यसअघि कांग्रेसले मंगलबारको प्रतिनिधि सभा बैठकमा समेत सिरोहियाविरुद्ध प्रतिशोध लिइएको भन्दै आपत्ति जनाएको थियो । 
 

मङ्गलबार ७ जेठ २०८१ ०४:५१ PM मा प्रकाशित

प्रतिक्रिया