शानदार कमब्याकसँगै स्कटल्यान्डमाथि नेपालको रोमाञ्चक जित

 काठमाडौँ - १३८ रनको स्कोरमै आठौं विकेट गुमाइसकेको नेपालले त्यसपछि शानदार कमब्याक गर्दै स्कटल्याण्डमाथि २ विकेटको रोमाञ्चक जित निकालेको छ । नेपालको धराशायी भइसकेको इनिङलाई कप्तान रोहित पौडेल र करण केसीले सम्हाले ।

यससँगै आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो चौथो खेलमा पनि नेपालले स्कटल्यान्डमाथि २ विकेटको जित हासिल गरेको हो । स्कटल्याण्डले दिएको २१३ रनको लक्ष्य नेपालले ४४।१ ओभरमा ८ विकेटको क्षतिमा हासिल गरेको हो ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले ४६।१ ओभरमा सबै विकेट गुमाउँदै २१२ रनको योगफल बनायो ।

स्कटल्याण्डका लागि जर्ज मुन्सेले सर्वाधिक ६० रनको योगदान दिए भने म्याथ्यु क्रसले ४२ तथा ब्रेन्डन म्याकमुलनले ३१ बनाए । त्यस्तै केल कोट्जर र क्रिस्टोफर म्याकब्राइडले समान २२ रन बनाए । नेपालका लागि सन्दिप लामिछानेले सर्वाधिक ४ विकेट लिए भने करण केसीले ३ विकेट लिए । ललित राजवंशी र कुशल मल्लले समान १ विकेट लिए ।

जवाफमा नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक नटआउट ९५ रन बनाए । करण केसीले नटआउट ३१ रन बनाए । ज्ञानेन्द्र मल्लले २१, कुशल मल्लले १७, आसिफ शेखले १२ रन बनाए । स्कटल्याण्डका लागि मार्क वाटले ३, क्रिस ग्रेभ्सले २ र ब्रेन्टन म्याकमुलन, सफ्याँ शरीफ र मिचेल लिस्कले समान १ विकेट लिए ।