images

सहकारी नियामक निकाय गठन हुँदैछ ः अर्थमन्त्री महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डा. प्रकाशशरण महतले नियामक निकाय बन्न सकेमात्र सहकारी क्षेत्रमा रहेका समस्या समाधान हुने बताएका छन् । ललितपुरको गोदावरीमा पार्टीको जारी महासमिति बैठकमा मंगलबार ‘नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा’ प्रतिवेदन प्रस्तुत गर्दै  उनले नियामक निकाय ‘सेकेण्ड टाइयर इन्स्टीच्यूसन’ गठन प्रकृया अघि बढिसकेको जानकारी दिए । सहकारी क्षेत्रमा विद्यमान समस्याले साना बचतकर्ताको रकम जोखिममा रहेको महतले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । ‘सहकारी क्षेत्रको नियमन व्यवस्था प्रभावकारी नभएका कारण यस्तो समस्या देखिएको हो । यस क्षेत्रलाई साना बचतकर्ताको बचत परिचालन गर्ने र भरपर्दो क्षेत्रको रूपमा स्थापित गर्नु चुनौतीपूर्ण भएको छ । सहकारी क्षेत्रको नियामक निकाय गठन प्रकृया अघि बढाइएको छ । यस निकायले कार्यप्रारम्भ गरेपछि सहकारी क्षेत्रको समस्या निराकरण हुने अपेक्षा छ,’ मन्त्री महतले प्रतिवेदनमा उल्लेख गरेका  छन् । प्रतिवेदनमार्फत उनले मुलुकको अर्थतन्त्र ‘समस्यामुक्त भइनसकेको’ उल्लेख गर्दै आर्थिक परिसूचक अनुकूल भए पनि राजस्व वृद्धि अपेक्षित हुन नसक्दा सार्वजनिक वित्त व्यवस्थापन चुनौतीपूर्ण भएको स्वीकार गरे । ‘अर्थतन्त्रका अधिकांश परिसूचक सकारात्मक रहेको भए पनि वास्तविक क्षेत्रमा आर्थिक क्रियाकलापहरूको विस्तार, उत्पादन र उत्पादकत्व वृद्धि गर्नु एक प्रमुख चुनौती हो,’ उनले प्रतिवेदन प्रस्तुत गर्दै भने । मन्त्री महतले अर्थतन्त्र सुधार नहुनुमा पर्याप्त तयारीबिना बजेट प्रस्ताव ल्याउने कार्य पनि प्रमुख कारक भएको उल्लेख गरेका छन् । सार्वजनिक खर्च व्यवस्थापनमा गम्भीर खालका चुनौतीहरू रहेको भन्दै उनले बजेट सुनिश्चित नहुँदै ठेक्का लगाउने प्रवृत्तिले अर्थतन्त्रमा थप समस्या सिर्जना गरेको बताए । 
 

मङ्गलबार ७ फागुन २०८० ०७:०३ PM मा प्रकाशित

प्रतिक्रिया