भारत र अस्ट्रेलियाबीच ४० लाख अमेरिकी डलरका लागि प्रतिस्पर्धा हुँदै

एकदिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र अस्ट्रेलियाबिच प्रतिस्पर्धा हुँदैछ ।  विश्वकपको विजेताले ४० लाख अमेरिकी डलर पाउनेछन् । त्यस्तै उपविजेताले २० लाख अमेरिकी पुरस्कार पाउने छ ।  भारतको अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा आज दिउँसो सवा २ बजे फाइनल खेल सुरु हुनेछ। सेमिफाइनलमा हारेका न्युजिल्यान्ड र दक्षिण अफ्रिका दुवैले आठ लाख डलर पाएका छन् । लिग चरणबाट बाहिरिएका सबै ६ टोलीले एक–एक लाख डलर प्राप्त गरेका छन् । यसका साथै लिग चरणमा १० वटै टोलीबिच खेलेका ४५ खेलको विजेता टोलीलाई प्रत्येक खेलमा विजयी भएबापत ४० हजार डलर प्रदान गरिने छ । बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई ३ विकेटले हराउँदै फाइनलमा पुगेको हो । सेमिफाइनल खेलमा भारतले न्युजिल्याण्डलाई र अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई हराएर फाइनलमा स्थान बनाएका थिए । भारतले बुधबार पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई ७० रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो । त्यस्तै, नोभेम्बर १९ का लागि सबै एयरलाइन्सको उडान टिकटको मूल्य धेरै गुणा बढेको छ । इन्डिगोको दिल्लीदेखि अहमदाबादको फिर्ताको हवाई टिकट ७९,७६१ रुपैयाँ छ। यो सामान्य दिनको उडान टिकटको तुलनामा १० गुणाले बढेको छ । हवाई भाडामा चकित पार्ने बृद्धिले क्रिकेट प्रेमीहरुको चिन्ता बढेको छ तर फाइनलको क्रेज पनि उनीहरुको टाउकोमा पुगेको छ । अहमदाबादको भाडामा अविश्वसनीय वृद्धि दिल्लीबाट मात्र होइन भारतका अन्य शहरहरूबाट पनि देखिएको छ। दिल्ली, मुम्बई, बेंगलोर र कोलकातादेखि अहमदाबाद रुटमा दुवैतर्फको भाडा ३५ हजारदेखि ८० हजार रुपैयाँसम्म रहेको छ, जुन नियमित दरभन्दा धेरै बढी हो।