images

रोनाल्डोको कीर्तिमान, पोर्चुगलको जित

काठमाडौं । युरो २०२४ को समूह चरणको पहिलो खेलमा चेक रिपब्लिकविरुद्ध मैदान उत्रिए लगत्तै पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले नयाँ कीर्तिमान बनाएका छन् । उनी स्न २००४ देखि २०२४ सम्मका लगातार ६ वटा संस्करणको युरोकप खेलेका हुन् । ६ संस्करण युरो कप खेल्ने रोनाल्डो पहिलो खेलाडी बनेका हुन् ।
रोनाल्डोले कीर्तिमान बनाएको खेलमा गोल भने गर्न सकेनन् । तर, उनी युरोकपमा सर्वाधिक गोल गर्ने खेलाडी भने हुन् । उनले अहिलेसम्म १४ गोल गरेका छन् ।  रोनाल्डोले कीर्तिमान बनाएको खेलमा पोर्चुगलले चेक रिपब्लिकमाथि २–१ गोलको पुनरागमन जित निकाल्न सफल भयो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा चेक रिपब्लिकले ६२ औं मिनेटमा गोलको खडेरी तोडेको थियो । उसका लुका पोभार्डले गोल गर्दै अग्रता दिलाएका थिए ।
१ गोलले पछि परेको पोर्चुगललाई बराबरी गोल गर्न भने उपहार गोलको सहारा लिनु परेको थियो ।
चेक रिपब्लिकका रोबिन हरानाले आफ्नै पोस्टमा गोल गरेपछि ६९ औं मिनेटमा उपहार गोलमार्फत पोर्चुगल खेलमा एक एकको बराबरी गर्दै फर्कियो ।
दोस्रो हाफको अतिरिक्त दोस्रो मिनेटमा फ्रान्सिस्को कोन्सिकाओले गोल गरेपछि पोर्चुगलले २–१ गोलको पुनरागमन जित निकाल्न सफल भयो ।
जितसँगै समूह एफमा पोर्चुगलले ३ अंक जोडेको छ । यही समूहमा रहेको टर्कीले जर्जियालाई ३–१ गोल अन्तरले पराजित गरेको छ । टर्कीका लागि २५ औं मिनेटमा मर्ट मुलडरले गोल गर्दै अग्रता दिलाएका थिए । ३२ औं मिनेटमा जर्जेस मिकुटाडेजले गोल गरेपछि जर्जिया एक एकको बराबरीमा आएको थियो ।
६५ औं मिनेटमा एर्डा गुलेरले गोल गर्दै टर्कीलाई २–१ ले अघि बढाए । दोस्रो हाफको अतिरिक्त सातौं मिनेटमा मुहमद करिमले गोल गरेपछि टर्की अन्ततः ३–१ को सहज जित निकाल्दै स्पष्ट तीन अंक जोड्न सफल भयो । टर्की समूह चरणमा शीर्ष स्थानमा रहँदा पोर्चुगल दोस्रो स्थानमा छ । चेक रिपब्लिक र जर्जियाले भने खाता खोलेका छैनन् । 
 

बुधबार ५ असार २०८१ ०६:०४ PM मा प्रकाशित

प्रतिक्रिया