काठमाडौँ - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले डेङ्गुको सङ्क्रमण बढ्दै गएपछि सबै अस्पताललाई डेङ्गु सङ्क्रमणको उपचार प्रभावकारी गर्न निर्देशन गरेको छ ।
महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले दैनिक डेङ्गुका सङ्क्रमण बढिरहेकाले सङ्घीय अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आवश्यकतानुसार ‘ज्वरो क्लिनिक’ सञ्चालन गर्न आग्रह गरेका छन् ।
उनले अस्पतालमा डेङ्गु रोगको चापका आधारमा ज्वरोको स्क्रिनिङका लागि ज्वरो क्लिनिकल सञ्चालन गर्नुपर्ने बताए । उनका अनुसार डेङ्गु सङ्क्रमण अहिलेसम्म १४ हजार तीन सय ५७ जनामा देखिएको छ । यस्तै सङ्क्रमण ७५ जिल्लामा फैलिएको र अहिलेसम्म १० जनाको सङ्क्रमणको कारणले निधन भइसकेको छ ।