images

जलवायु परिवर्तनबाट उत्पन्न हुने समस्यालाई जलस्रोत विधेयकले सम्बोधन गर्नुपर्छः सांसदहरु 

जलस्रोत विधेयक,२०८० मा जलवायु परिवर्तनबाट उत्पन्न हुने समस्यालाई समावेश गर्नुपर्ने सांसदहरुले बताएका छन् । आईतवार प्रतिनिधि सभा अन्तर्गतको पूर्वधार विकास समितिमा जलस्रोत विधेयक,२०८० माथिको दफावार छलफलमा भाग लिँदै सांसदहरुले यस्तो संशोधन प्रश्ताव गरेका हुन् । सांसदहरुले जलवायु परिवर्तनको कारण नदी, खोलामा बाढी,पहिरो जस्ता गम्भिर प्रकृतिका समस्या देखापर्न थालेको भन्दै जलवायु परिवर्तनबाट उत्पन्न हुने समस्यालाई सम्बोधन हुनेगरी ऐन तर्जुमा गरिनुपर्ने बताएका हुन् । सांसदहरुले विधेयकलाई वर्तमान समयसापेक्ष र उपभोक्तामैत्री बनाउनुपर्नेमा जोड दिए । नेकपा एमालेका सांसद रघुजी पन्तले जलवायु परिवर्तनको कारण मनाङ,मुस्ताङ र सोलुखुम्बुमा आएको बाढीले गम्भिर प्रश्न उठाएको बताउनु भयो । उहाँले जलवायु परिवर्तनको कारण भविष्यमा जलस्रोतका योजनाहरुमा ठूलो क्षति पुग्ने कुरालाई ध्यान दिन जरुरी रहेको देखिएको बताउनु भयो । उहाँले विधेयकको प्रश्तावनामा नै जलस्रोतको उपयोग संरक्षण एकीकृत र समन्वयात्मक विकास गर्न तथा जलवायु परिवर्तनबाट उत्पन्न हुनसक्ने जल तथा मौसमजन्य प्रकोप र विपद्को प्रभावलाई न्युनिकरण गर्नका लागि जलस्रोत सम्बन्धि कानून संशोधन र एकीकरण गर्न आश्वयक रहेको बताउनु भयो । उहाँले नेपालका धेरै जलविद्युत आयोजनाहरुमा वर्षा याममा धेरे विद्युत उत्पादन हुने र हिउँदमा अनुमान भन्दा कम हुने गरेकाले जलको परिणाममा हुने घटबढ समेतलाई व्यवस्थापन गर्नेगरी ऐन बनाउनुपर्ने भन्दै संशोधन प्रश्ताव गर्नुभयो ।
 

आइतबार​ २ भदौ २०८१ ०४:०६ PM मा प्रकाशित

प्रतिक्रिया