दाङ र कालीकोटमा दादुराका बिरामी फेला

काठमाडौँ - दाङ र कालीकोटमा दादुराका बिरामी फेला परेका छन् ।

स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा निर्देशक डा विबेककुमार लाल दाङको बङ्गलाचुली नगरपालिका पाँच जना र कालीकोटको खडाचक्र नगरपालिकामा चार जनामा दादुराको सङ्क्रमण देखिएको जानकारी दिए ।

उनका अनुसार ती दुवै ठाउँका शङ्कास्पद बिरामीको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा दादुराको सङ्क्रमण पुष्टि भएको हो । कालीकोटमा नौ जना र दाङका आठ जना शङ्कास्पद बिरामीको नमुना परीक्षण गरिएको थियो ।

यसअघि जेठ २४ गते काठमाडौँको गोकर्णेश्वरको एक विद्यालयमा पनि चार जनामा दादुराको प्रकोप देखिएको थियो । महाशाखाका निर्देशक डा लालले दादुराको प्रकोप प्रभावित ती ठाउँमा निगरानी तथा रोकथाम गरिरहेको बताएका छन् ।

नेपालमा अहिलेसम्म १७ जिल्ला मोरङ, सुनसरी, धनुषा, महोत्तरी, सर्लाही, चितवन, काठमाडौँ, कपिलवस्तु, अर्घाखाँची, दाङ, बाँके, बर्दिया, सुर्खेत, कालीकोट, कैलाली, कञ्चनपुर र बाजुरा मा दादुरा प्रकोप देखिएको छ । बाँकेको नेपालगञ्जमा दादुराबाट एक जनाको मृत्यु भएको छ ।