झन्डै २२ अर्ब वैदेशिक लगानी भित्रियो चार महिनामा

चालू आव ०८०/८१ को पहिलो चार महिनामा २१ अर्ब ८८ करोड ३१ लाख रुपैयाँबराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । यो गत आवको सोही अवधिको तुलनामा ८९ प्रतिशत बढी हो । गत आवको पहिलो चार महिनामा ११ अर्ब ६० करोड रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको थियो । योसँगै नेपालमा आएको कुल वैदेशिक लगानी प्रतिबद्धता चार खर्ब ६८ अर्ब ३२ करोड ३२ लाख पुगेको छ । उद्योग विभागबाट प्राप्त कात्तिक मसान्तसम्मको तथ्यांकअनुसार एक सय ७० वटा साना, पाँच वटा मझौला, तीनवटा ठूला र अन्य प्रकृतिका २१ गरेर एक सय ९९ वटा उद्योगमा सोबराबरको लगानी प्रतिबद्धता आएको हो । यी उद्योगहरूमा आठ हजार सात सय ७० जनालाई रोजगारी खुल्ने विभागको तथ्यांकमा उल्लेख छ । ७४ करोड २५ लाखबराबरको लगानी प्रतिबद्धता आएको छ । त्यसबाट एक हजार ९८ जनालाई रोजगारीको अवसर खुल्ने विभागको भनाइ छ । सबैभन्दा बढी लगानी प्रतिबद्धता पर्यटनसम्बन्धी उद्योगमा आएको छ । समीक्षा अवधिमा आएको कुल लगानी प्रतिबद्धतामा पर्यटन क्षेत्रको हिस्सा ४८ प्रतिशत देखिएको छ । दोस्रोमा भने सेवा क्षेत्र रहेको  हिस्सा ३९ प्रतिशत छ । यसैगरी, सूचना प्रविधि क्षेत्रको ३ प्रतिशत, पूर्वाधार क्षेत्रको २ प्रतिशत, म्यानिफ्याक्चरिङ क्षेत्रको ७ प्रतिशत, कृषि क्षेत्रको १ प्रतिशत र मिनिरल क्षेत्रको १ प्रतिशत हिस्सा छ । नेपालमा कोरोना कालमा बाहेकका वर्षहरूमा वैदेशिक लगानी प्रतिबद्धता बढ्दो क्रममा थियो । तर, गत आवमा त्यो घटेको थियो । विशेष गरी पछिल्लो विश्वव्यापी आर्थिक संकटका कारण वैदेशीक लगानी प्रतिबद्धतामा देखिएको थियो । कोरोना महामारीका कारण यसै पनि विश्व अर्थतन्त्र संकटग्रस्त थियो । तर, त्यसलगत्तै भएको रुस–युक्रेन युद्धलगायतका कारण विश्व अर्थतन्त्र संकटमा गएको थियो । विशेष गरी पेट्रोलियम पदार्थको मूल्य बढ्दा विश्वव्यापी रूपमा आर्थिक संकट परेको थियो । त्यसको असरले नेपालमा वैदेशिक लगानी प्रतिबद्धता घटेको थियो । किनकि, विश्वव्यापी रूपमा देखिएको आर्थिक संकटका कारण विश्वका ठूला–ठूला देशहरूले आफ्नै देशमा लगानी प्रोत्साहन गर्ने नीति ल्याएका थिए । त्यसमाथि नेपालमा उच्चदरमा महँगी बढ्ने लगायतका कारण लगानीको वातावरण पनि राम्रो भएन । समीक्षा अवधिमा साउनमा एकैपटक १३ अर्ब १३ करोड ६० लाख रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको थियो । त्यसपछिका महिनाहरूमा भने लगानी प्रतिबद्धता रकम तुलनात्मक रूपमा कम छ । तथ्यांकअनुसार भदौमा तीन अर्ब आठ करोड १० लाख, असोजमा दुई अर्ब ९२ करोड ३६ लाख र कात्तिकमा दुई अर्ब ७४ करोड २५ लाख रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको छ । गत आवमा अघिल्लो वर्षको वैदेशिक लगानी प्रतिबद्धता २२ प्रतिशतले घटेको थियो । अघिल्लो आव ०७८/७९ मा ४९ अर्ब ४३ करोड २७ लाख रुपैयाँबराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको थियो । तर, गत आवमा वर्षमा त्यस्तो प्रतिबद्धता १० अर्ब ७६ करोड ३४ लाखले कम अर्थात् ३८ अर्ब ६६ करोड ९० लाख थियो । तर, चालू आवमा यस्तो लगानी प्रतिबद्धता बढ्ने संकेत देखिएको विभागका अधिकारीहरू बताउँछन् ।