images

पथिक प्राज्ञ निगमको विवाद अदालतमा, अध्यक्ष टंकनाथले गराएको साधारसभा गैरकानुनी ठहर

कुनै बेलाका कम्युनिस्ट नेता हुन् ७५ वर्षीय टंकनाथ पौडेल (टी.एन पथिक) । डेढ दशकयता उनी ध्यान गुरु ‘सम्बुद्ध रहस्यदर्शीआचार्यश्री पथिक बाबा’ बनेर काठमाडौंको चन्द्रागिरी–८, मातातिर्थमायोग/ध्यान गराउँछन् । १६ वर्षअघि टंकनाथसहित चार जना संस्थापक मिलेर खोलेको ‘डिभाइन ग्रेस एकेडेमी प्रा.लि’ अहिले ‘पथिक प्राज्ञ निगम’ बनेको छ । टंकनाथ सुरुदेखि नै कम्पनीको सञ्चालक समिति अध्यक्ष छन् । चार जना मिलेर खोलेको सानो कम्पनी अहिले ४२ शेयर सदस्यसहितको ठूलो बनिसकेको छ । तर, कम्पनीसँगै यसभित्र शेयर सदस्यहरूबीच विवादकाे आकार उति नै ठूलो हुँदै गएको देखिन्छ । खासगरी अध्यक्ष टंकनाथले कम्पनी अपारदर्शी र मनोमानी ढंगले सञ्चालन गरेको भन्दै डेढ दर्जन शेयर सदस्यहरू रुष्ट मात्रै छैनन्,उनीहरू न्याय माग्दै अदालतको ढोका ढकढकाउन पुगेका छन् । काम, क्रोध लोभ, मोह त्यागेर शान्ति अँगाल्न सिकाइरहेका ‘गुरु’ टंकनाथमाथि व्यवसायिक घात गरेको आरोप छ । उनले गराएका केही निर्णयलाई अवैध मान्दै अदालतले नै खारेज गरिदिएको छ । आफ्नै व्यावसायिक साझेदारमाथि उनले गरेको जालझेल अदालतले सच्याउनुपरेको एक सञ्चालकले बताए । यसबाहेक अध्यक्ष टंकनाथसहितका केही अन्य सञ्चालकविरुद्ध किर्ते जालसाजी मुद्दा पनि काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ । अध्यक्ष टंकनाथले यसअघि गराएका साधरणसभादेखि घरभाडासम्बन्धी सम्झौता र ३१ जना नयाँ शेयर सदस्य थप्ने निर्णयलाई अवैध भन्दै कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आदेश गरेको छ । कम्पनीको आर्थिक प्रशासनिक काम सुव्यवस्थित र रितपूर्वक सञ्चालन नभएको अदालतको निचोड छ । त्यसैले भविष्यमा कम्पनी तथा सञ्चालकहरूबाट कम्पनीको हितअनुकूल हुने गरी कम्पनीको प्रशासनिक, आर्थिकलगायत सम्पूर्ण काम कारोबार सुव्यस्थित र रितपूर्वक गराउन पनि उच्च अदालतले भनेकाे छ । के हो विवाद ? १९ पुस २०६४ मा संस्थापक सञ्चालक टंकनाथ ‘पथिक’सहित ४ जनाले ‘डिभाइन ग्रेस एकेडेमी प्रा.लि’ नामको कम्पनी स्थापना गरे । कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता गर्दा चार जना संस्थापक बनेर खोलेको कम्पनीको पुँजी बढाइएपछि शेयर सदस्य संख्या ४२ पुग्यो । आर्थिक वर्ष २०६८/६९ मा डिभाइन ग्रेस एकेडेमीको नाम फेरेर ‘पथिक प्राज्ञ निगम प्रालि’ राखि संचालन भइरहेको थियो । यहाँसम्म ठीकठाकै थियो । तर, यसपछि अध्यक्ष टंकनाथले चरम मनोमानी गरेकाले बाध्य भएर आफूहरू अदालतसम्म पुगेकाे अर्का एक सञ्चालकले बताए । कम्पनीको पुँजी बढाउँदा कम्पनीका सञ्चालक अध्यक्ष टंकनाथले पहिलाको ९०० कित्ता शेयर बढाएर ६६ हजार ९ सय ३० कित्ता कायम गराएकाे उनकाे भनाइ छ । उनका अनुसार, टंकनाथकै छोरा सुशीलकुमार पौडेलले नयाँ शेयर लिन कबुल गरेको शेयर १३ हजार ३७ कित्ताबराबरको रकम दुवै जनाले कम्पनीको खातामा तत्काल जम्मा नगरी शेयर भने आफ्नो नाममा दाखिल गरी कम्पनी रजिष्ट्रारको कार्यालयमा शेयर लगत प्रमाणित गराए । ‘गैरकानुनी’ त्यो साधारणसभा र टीएन पथिकले थपेका नयाँ सदस्य ‘अवैध’ नयाँ ३१ जना र पुराना ५ जनालाई करिब २ करोडबराबरको शेयर जारी गरी प्रमाण पत्र वितरण गरेको तर रकम कम्पनीको बैंक खातामा जम्मा नगरेको हुनाले त्याे अवैध ठहरिएकाे छ । उच्च अदालतको फैसलामा भनिएको छ, ‘२०७८/१०/२५ को विशेष साधारणसभाको उपस्थित हेर्दा आमन्त्रित शेयरधनी भनी उपस्थिति जनाएको सुरेश गिरी, नवीन आधिकारी, कुलबहादुर कार्की, राजेन्दप्रसाद भारी, विजेयन भट्टराई, हरि ओम सुनार, मधुसुदन पौडेल, मन्जु भारी, निडर श्रेष्ठ, प्रवीण लामिछाने, प्रतिक प्रसाईं, रिता राई, सुवास केसी, नगेन्द खरेल, निशान पोखरेल, विजया गैतम, ममता गैतम, सन्तेष सुवेदी, समिर पोखरेल, सरु शर्मा, दिपा लागेजु, विनोदराज उपति, साईमन दाहाल, सुशीलराज गिरी, सरिता रसाईली, सन्दीप गाैतम, निलम वाईबा, शान्ती दंगाल, विभा थपलिया, निमिसा सिंह, समीक्षा पोखरेललाई शेयरधनीको हैसियत कायम रहनसक्ने नदेखिएको र यी व्यक्तिहरूको शेयर बदर गरिएको छ । सामूहिक सम्पत्तिमा मनोमानी करिब ३ रोपनीमा बनेको संरचना भाडाामा दिने निर्णयलाई पनि अदालतले खारेज गरिदिएको छ । सञ्चालकहरूका अनुसार, अध्यक्ष टंकनाथको समेत लगानी रहेको स्पार्क हेल्थ होम र उनकै संरक्षकत्वमा रहेको पथिक फाउण्डेसन पनि पथिक प्राज्ञ निगमकै भवनमा भाडामा बसेको छ तर त्यसबापत उठेको भाडा रकम अध्यक्षले न कम्पनीको खातामा हालेका छन्, न कतै खर्च भएको विवरण नै देखाएका छन् । उच्च अदालत, पाटनले ५ फागुन २०७९ काे अन्तरिम आदेश र पूर्ण पाठमार्फत टंकनाथको एकाघरका छोरा र बुहारीको स्वामित्व रहेको स्पार्क इन्टरनेसनल हेल्थ रिजोर्टसँग २० वर्षको लागि गरेको सम्झौता पनि बदर गरिदिएकाे छ । आदेशबाट पनि टंकनाथले कम्पनीलाई हानी नोक्सानी हुने गरी सामूहिक सम्पत्तिमा मनोमानी गरेको पुष्टि हुने ती सञ्चालककाे भनाइ छ । ‘३१ जना शेरधनी होइनन्’ उच्च अदालतले २५ माघ २०७८ को विशेष साधारणसभामा उपस्थित आमन्त्रित ३१ शेयरधनीलाई ‘अवैध’ भनेको छ । शेयर रकम भुक्तानी गरेको नदेखिएकाले उनीहरूको शेयरधनकिो हैसियत नठहर्ने अदालतको फैसला छ । ‘समय तोकेर शेयर रकम चुक्ता गर्न लगाउनू’ कम्पनीको चुक्ता शेयर पुँजी ३ करोड १७ लाख ७६ हजार ९ सय रुपैयाँमध्ये शेयर रकम चुक्ता हुन बाँकी रहेको भन्ने उच्च अदालतको आदेशबमोजिम नियुक्त लेखा परीक्षणको अडिट प्रतिवेदनबाट देखिँदा कुन कुन शेयर धनीको के कति रकम चुक्ता हुन बाँकी हो, त्यस्तो शेयरधनीबाट सो रकम निश्चित समय तोकी चुक्ता गर्न लगाउन पनि अदालतको आदेश छ । तोकिएको समयभित्र चुक्ता नगरेमा उनीहरूको चुक्ता हुन बाँकी शेयरको लागत नरहने गरी अभिलेखमा राख्न पनि भनिएको छ । अडिट रिपोर्टबाट कम्पनीले सम्झौता गरी घरभाडा लगाएको कम्पनीको खातामा जम्मा हुन बाँकी रकम किन भएन, यसको जिम्मेवार को हो भन्ने विषयमा छानबिन गरी असुली कम्पनीको खातामा जम्मा गर्न पनि अदालतले आदेश गरेको छ । टंकनाथविरुद्ध किर्ते जालसाजी मुद्दा विचाराधीन १५ पुस २०७८ मा सञ्चालक समितिको बैठकमा २ अनुपस्थित सदस्यमध्ये एक सदस्य विदेशमा भएका बेला किर्ते हस्ताक्षर गरेको २ वटा मुद्दा अध्यक्ष टंकनाथसहित सञ्चालकहरू ज्ञानप्रकाश राई र टोपेन्द्र खनालविरुद्ध काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ । यही हस्ताक्षरसहितको निर्णयलाई कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरमा १५ पुस २०७८ मै पेस गरी कम्पनीको नयाँ युजर आइडी र पासवर्ड लगिएको थियो । ‘गुरु मानेर टंकनाथ पौडेललाई धेरै विश्वास गर्ने हुँदा हामी विश्वासघातमा पर्‍यौं, हामीजस्तै अरु कोही योग, ध्यान, धर्म र अध्यात्मको आडमा अन्यायमा नपरुन् भनेर हामीले कानुनी लडाईं लडेका हौं’, एक सञ्चालकले भने ।

स्रोतः सिलापत्रमा प्रकाशित आधारमा 

मङ्गलबार ३० असोज २०८० ०५:०३ PM मा प्रकाशित

प्रतिक्रिया