काठमाडौं । आज चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदैशैं, शक्तिस्वरूपा भगवतीको आराधना गरी मनाइँदै छ।
चैत्र शुक्ल पक्षलाई ‘वासन्ती नवरात्र’ भनिन्छ र दशैंको नवरात्रमा जस्तै ९ दिनसम्म देवीको उपासना गर्ने परम्परा छ। नवरात्रको पूरै विधि नगर्नेले भने अष्टमीमा देवीको आराधना गर्ने गर्छन्।चैतेदशैंका अवसरमा देवीभागवत तथा चण्डी पाठ गर्ने र शक्तिपीठमा पूजा अर्चना र दर्शन गर्न जाने परम्परा छ। नवरात्रमा शक्तिपीठमा पशुबलिसहित पूजा गर्ने विधान पनि छ।
वर्षमा चारवटा नवरात्र हुने भए पनि शारदीय र वासन्ती नवरात्रको महत्त्व बढी रहेकोले आजका दिन देवीको आराधना गर्ने गरिन्छ ।
काठमाडौंमा भद्रकाली, गुह्येश्वरी, शोभाभगवती,नक्सालभगवती, मैतीदेवी र दक्षिणकालीका साथै काभ्रेपलाञ्चोकमा पलाञ्चोक भगवती, गोरखामा मनकामना, धादिङमा कोटका कालिका, बाँकेमा बागेश्लवरीगायत देशभरका शक्तिपीठमा बिहानैदेखि दर्शनार्थीहरु पुग्ने गरेका छन् ।
यस्तै चैते दशैंका अवसरमा आज गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबारगण्डकी प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानसार्वजनिक बिदा दिइएकाले उक्त निकायहरु बन्द रहनेछन् ।
मन्त्रिपरिषद्को गत चैत ९ गतेको बैठकले गण्डकीमा विभिन्न चाडपर्व तथा दिवसमा बिदा दिने निर्णय गरेको थियो ।
प्रतिक्रिया