लक्ष्मीपूजाको दिन विद्युतको उच्च माग १४३८ मेगावाट, पिक समयमा ५१७ मेगावाट भारततर्फ निर्यात

२७ कात्तिक, काठमाडौं । यस वर्षको तिहारको लक्ष्मी पूजाको दिन देश भित्रको विद्युत् उच्च माग (पिक डिमाण्ड) १४३८ मेगावाट रेकर्ड गरिएको छ । नेपाल विद्युत प्राधिकरणले लक्ष्मीपूजाको दिन आइतबार साँझ ६ बजे पिक डिमाण्ड गत वर्षको तुलनामा १३३ मेगावाटले बढेर १४३८ मेगावाट पुगेको रेकर्ड भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । गत वर्षको ७ कात्तिकमा परेको लक्ष्मीपूजाको दिनको विद्युत् पिक डिमाण्ड १३०५ मेगावाट थियो । तिहारमा उद्योग, कलकारखानाहरु बन्द हुने भएकाले रेकर्ड गरिएको पिक डिमाण्ड औद्योगिक ग्राहक बाहेकको हो । यस वर्ष प्राधिकरणले पिक डिमाण्ड १३५७ मेगावाट पुग्ने प्रक्षेपण गरी सोही अनुसार विद्युत् आपूर्ति व्यवस्थापन गरेको थियो । लक्ष्मी पूजाको दिनको पिक डिमाण्ड देशभित्रैका विद्युत् गृहहरुबाट उत्पादन गरी आपूर्ति गरेको थियो । देशभित्रको विद्युत् मागलाई पूरा गरी बचत भएको ५१७ मेगावाट विद्युत् पिक समयमा भारततर्फ निर्यात पनि गरिएको प्राधिकरणले जनाएको छ । गत वर्ष लक्ष्मी पूजा पिक समयमा ४०६ मेगावाट मात्र निर्यात गरिएको थियो । लक्ष्मी पूजाको दिन निर्यातसहित प्रणालीमा समग्र विद्युतको माग १९५५ मेगावाट रेकर्ड गरिएको छ । गत वर्ष प्रणालीको पिक डिमाण्ड १७११ मेगावाट थियो । यस वर्ष लक्ष्मी पूजाको दिन काठमाडौं उपत्यकाको पिक डिमाण्ड ३६६ मेगावाट रेकर्ड गरिएको छ । गत वर्ष ३४२ मेगावाट थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लक्ष्मी पूजाको दिन विद्युत् माग र आपूर्ति व्यवस्थापनको जानकारी लिन आइतबार उपकार्यकारी निर्देशकहरुको टोलीसहित स्यूचाटारस्थित भार प्रेषण केन्द्रको कन्ट्रोल रुममा खटिएका थिए ।