इजरायलबाट फर्किइन् सावित्रा

इजरायलमा व्यावसायिक लिग खेल्न पुगेकी नेपाली राष्ट्रिय फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी बुधबार राति स्वदेश फर्किएकी छिन् । गत शनिबारदेखि प्यालेस्टिनी विद्रोही समूह हमासको हमलाका कारण इजरायल हिंसाग्रस्त बनेपछि सावित्रा बैंकक हुँदै नेपाल फर्किएकी हुन् । इजरायलमा हिंसात्मक गतिविधि बढेपछि सबै खेल स्थगित र सुरक्षाका कारण स्वदेश फर्किएको उनले बताएकी छिन् । ‘नेपाल फर्कन पाउँदा खुसी लागेको छ,’ उनले भनिन् । इजरायलमा बर्सेनि द्वन्द्व भइरहने उनको भनाइ छ । योपटक इजरायलमा ठूलो द्वन्द्वको सिर्जना भएको सावित्राको भनाइ छ । त्यहाँको वातावरण शान्त भए फर्किने उनले बताइन् । ‘स्थिति अहिलेको भन्दा शान्त भएपछि इजरायल फर्कनेछु,’ उनले भनिन् । उनी आबद्ध हापोयल रानाना क्लबले सावित्रालाई नेपाल फर्काउने सबै बन्दोबस्त गरेको थियो । इजरायल हिंसाग्रस्त भएपछि उनी इजरायलस्थित नेपाली दूतावासमा बसेकी थिइन् । उनले इजरायलमा भएका सबै घटनाबारे अखिल नेपाल फुटबल संघ (एन्फा)लाई जानकारी गराइन् । इजरायल हिंसाग्रस्त हुँदा युनियन अफ युरोपियन फुटबल एसोसिएसन (युइएफए)ले इजरायलका सबै खेल स्थगन गरेको छ । युइएफएले विज्ञप्ति जारी गर्दै इजरायलको वर्तमान सुरक्षालाई ध्यानमा राख्दै आगामी दुई साताका लागि इजरायलमा निर्धारित सबै खेल स्थगन गर्ने निर्णय गरेको हो । यसै साता चीनको हाङझाउमा भएको १९औँ एसियन खेलकुद प्रतियोतिगामा सहभागी हुँदै उनी इजरायल फर्केकी थिइन् । रानानामा आबद्ध उनले लिगमा ६ गोल गरेकी छिन् । रानाना पाँच अंकसहित पाँचौँ स्थानमा छ ।