images

नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको आन्दोलनप्रति (एफक्यान)को गम्भीर ध्यानाकर्षण, वार्ता र संवाद मार्फत् समस्याको निकास खोज्न आग्रह

जेठ ३१, काठमाडौं नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको आन्दोलनप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान) ले जनाएको छ । निर्माण कार्यका लागि अत्यावश्यक ढुङ्गा, गिट्टी, बालुवा उत्खनन तथा प्रशोधन उद्योगहरूको नवीकरण सम्बन्धी विषय आर्थिक वर्ष ०८१/८२ को बजेटमा सम्बोधन नभएको भन्दै नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले असार एकबाट आन्दोलन शुरु गर्दैछ । नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालले विहिवार विज्ञप्ति जारी गर्दै क्रसर तथा खानी व्यवसायीहरूको समस्यालाई महासंघले महसुस गरेको उल्लेख गर्नु भएको छ । ‘तत्कालीन कानुन अनुसार अनुमति पत्र लिई सञ्चालनमा रहेका ढुङ्गा, गिट्टी, बालुवा उत्खनन तथा प्रशोधन उद्योगहरूले त्यसपछिका मितिमा जारी भएका सरकारी मापदण्डका कारण विभिन्न समस्या झेल्दै आएको र त्यसको मार निर्माण व्यवसायीहरूले पनि खेप्नु परेको तथ्यलाई निर्माण उद्योगसँग प्रत्यक्ष सरोकार राख्ने यस महासंघले पनि गम्भीर रुपमा लिएको छ ।’ विज्ञप्तिमा लेखिएको छ । यस्तो आन्दोलनबाट सार्वजनिक खरिद नियमावलीको तेह्रौ संशोधन पश्चात् म्याद थप भई सुचारु हुन लागेका एवं अन्य सम्पूर्ण आयोजनाहरूको कार्यान्वयन एवं सम्पादनमा गम्भीर असर पर्ने नेपाल निर्माण व्यवसायी महासंघको भनाइ छ । आर्थिक वर्ष समाप्त हुन एक महिना मात्र बाँकी रहँदा असार एकबाट आन्दोलन थाल्दा मुलुकको समग्र अर्थतन्त्र नै अत्यन्त शिथिल रहेको वर्तमान अवस्थामा निर्माण कार्यहरू ठप्प भई निर्माण उद्योग र समस्त निर्माण व्यवसायीहरूलाई अझ मार पर्ने विज्ञप्तिमा जनाइएको छ । तत्कालका लागि आन्दोलनमा पुर्नविचार गर्दै सरकारसँगको वार्ता र संवादबाटै समस्याको निकास खोज्न र सम्बन्धित् व्यवसायीहरूलाई तत्काल वार्तामा बोलाउन समेत नेपाल निर्माण व्यवसायी महासंघले नेपाल सरकार समक्ष अनुरोध गरेको छ । साथै निर्माण कार्यहरू आर्थिक वर्षको समाप्तीमा सम्पन्न गर्ने गरी आवश्यक वातावरण बनाइदिन समेत महासंघले विज्ञप्ति मार्फत् नेपाल सरकार समक्ष माग गरेको छ ।

बिहीबार ३१ जेठ २०८१ ०३:०१ PM मा प्रकाशित

प्रतिक्रिया