नेपाल-भारत परराष्ट्र सचिवस्तरीय बैठक सुरु

काठमाण्डौँ -  नेपाल र भारतका परराष्ट्र सचिवको प्रतिनिधिमण्डलस्तरीय बैठक सुरु भएको छ । सोमबार दिउँसो याक एण्ड एति होटलमा परराष्ट्र सचिवस्तरीय बैठक सुरु भएको हो ।

बैठकमा नेपालको तर्फबाट परराष्ट्र सचिव भरतराज पौड्याल र भारतको तर्फबाट विदेश सचिव विनय मोहन क्‍वात्राले नेतृत्व गरेका छन्। परराष्ट्र सचिव पौड्यालको निमन्त्रणामा क्‍वात्राको नेतृत्वमा चार सदस्यीय टोली सोमबार बिहान भारतीय वायु सेनाको जहाजबाट काठमाडौं आइपुगेको हो । टोलीमा भारतीय विदेश मन्त्रालयमा नेपाल डेस्क प्रमुख नर्थ सहसचिव अनुराग श्रीवास्तवसमेत रहेका छन् । 

परराष्ट्र मन्त्रालयका अनुसार बैठकमा भारत र नेपालबीचको बहुआयामिक सहकार्यका विविध पक्षबारे छलफल हुनेछ। कनेक्टिभिटी, ऊर्जा व्यापार,कृषि,स्वास्थ्य र संस्कृतिलगायत सहकार्यका विषयमा छलफल हुने बताइएको छ ।