सरकारलाई लामिछानेको प्रश्न : भारतीय प्रधानमन्त्रीले गुञ्जी भ्रमण गर्दा किन जानकारी नगराएको ?

रास्वपा सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भूमी गुञ्जी भ्रमण गर्दा सरकारले किन जानकारी नगराएको भन्दै प्रश्न गरेका छन्। बिहीबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा लामिछानेले नेपालको भूमीमा भ्रमण गर्दा नेपाल सरकार र परराष्ट्र मन्त्रालयलाई जानकारी भए/नभएको सदनलाई जानकारी गराउनसमेत माग गरेका हुन्। भारतीय प्रधानमन्त्री मोदी आज बिहान हेलिकोप्टर चढेर आदि कैलाश र पार्वती कुण्डको दर्शन गर्न पुगेका थिए। सोही विषयलाई लिएर पूर्वउपप्रधान एवम् गृहमन्त्री लामिछानेले भने, ‘हामीलाई समाचारबाट र आधिकारिक निकायबाट के थाहा हुन आयो भने, हाम्रो मित्र राष्ट्रका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी हाम्रो भूभागमा आउनुभएको रहेछ। मित्र राष्ट्रको प्रधानमन्त्री हाम्रो देशमा आउँदा सरकारले न कुनै स्वागत गरेको छ, न देशलाई कुनै जानकारी गराएको छ । यत्रो ठूलो भ्रमण हाम्रो देशमा । यो कुटी, गुञ्जी नेपालमै पर्छ। हामीले नै पास गरेको चुच्चे नक्सा भित्र पर्छ त्यस भूभागभित्र गुञ्जी पनि पर्छ।’ लामिछाने‍ले छिमेकी मुलुकको प्रधानमन्त्री आउँदा सरकारले किन औपचारिक कार्यक्रम नराखेको भन्दै प्रश्न गरे । उनले सरकारले तत्काल सदन र जनतालाई जानकारी गराउनुपर्ने माग गरे। हामीले भोग गरेको र प्राप्त गरेको नक्सामा नेपाल भूभाग भएकाले कोही विदेशी आउँदा नेपाली जनताले जानकारी पाउनुपर्ने धारणा राखे। उनले प्रजिअसँग कुरा गर्दा आफूहरु त्यहाँ जान नपाउने र भारतका प्रधानमन्त्री त्यहाँ आएको जानकारी समाचारबाट मात्रै जानकारी पाएको बताएको उल्लेख गरे। उनले मोदीलाई किन स्वागत नगरेको र कार्यक्रम नगरेको भन्दै प्रश्न गरे।