images

आज साउनको अन्तिम सोमबार, पशुपतिमा भक्तजनको घुइँचो

काठमाडौं । आज साउनको अन्तिम सोमबार । पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । पशुपतिनाथ मन्दिरमा चान्द्रमासअनुसार साउन लागेदेखि नै भक्तजनको भीड लागेको छ । आज साउनको चौथो अर्थात अन्तिम सोमबार पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड छ । सोमबारको उपवासले मानिसको इच्छा अनि आकांक्षा पूरा गर्ने विश्वास रहिआएको छ। त्यस्तै ज्ञान प्राप्ति हुन्छ। अविवाहित स्त्रीले असल पति पाउँ भनि सोमबार व्रत बस्ने चलन अझ बढी छ । पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेकोले दर्शनार्थीका लागि सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायत व्यवस्थापन मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । साउन महिना र सोमबार भगवान् शिवजीको महिना र बार भएकाले पनि यस अवसरमा पशुपतिनाथ मन्दिरमा धेरै भक्तजनको घुइँचो लाग्ने गर्दछ । साउनमा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोलबम यात्रा गरी जल चढाउने भक्तजनको पनि घुइँचो लाग्ने गर्दछ । भक्तहरू यो दिन व्रत, पूजापाठ, दान आदि गरी शिवाराधना गर्ने गर्छन् । काठमाडौंको पशुपतिनाथ, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, खोटाङको हलेसी, सुनसरीको पिण्डेश्वर, जनकपुरको कपिलेश्वर लगायत देशभरका शिवालयहरुमा यो दिन दर्शनार्थीहरूको घुइँचो लाग्ने गर्छ ।
 

सोमबार २८ साउन २०८१ ०९:४६ AM मा प्रकाशित

प्रतिक्रिया