अन्तर्राष्ट्रिय युवा दिवसः योजना कार्यान्वयनमा समस्या

काठमाडौँ -आज अगस्ट १२ तारिख। विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ। नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको छ।

सरकारले बर्षेनि विभिन्न कार्यक्रम गरी युवा दिवस मनाउने गरे पनि युवाका मुद्दा कार्यान्वयनमा भने जहिल्यै समस्या देखिने गरेको जानकारहरु बताउँछन्।

युवा लक्षित गरी ल्याइएका विभिन्न कार्यक्रम कार्यान्वयन प्रभावकारी नहुँदा युवाका मुद्दा अपेक्षाकृतरुपमा सम्बोधन हुन नसकेको उनीहरुको गुनासो छ।

सरकारले युवा विकास तथा परिचालनका लागि २०६५ सालमा युवा तथा खेलकुद मन्त्रालय गठन गरेको थियो। यस्तै पहिलो पटक युवाको नेतृत्व तथा क्षमता विकास, उद्यमशीलताको विकास र स्वरोजगार, युवाको पहुँच र सहभागिताको सुनिश्चिततासँगै समृद्ध राष्ट्र निर्माण गर्ने उद्देश्यसहित २०७२ साल फागुनमा राष्ट्रिय युवा परिषद् गठन गरिएको थियो। युवालाई स्वरोजगार बनाउनका लागि ‘युवा स्वरोजगार कोष’ पनि स्थापना गरिएको छ।

साथगै राष्ट्रिय युवा नीति २०७२ र यूथ भिजन २०२५ ले पनि युवा विकासका व्यापक विषयलाई नीतिगत रूपमा समावेश गरेको छ। यस्तै प्रदेश, जिल्ला र स्थानीय तहमा पनि युवाका संरचना तयार गरिएका छन्।

प्रदेश युवा परिषद्, जिल्ला युवा समिति र युवा क्लब सञ्जाल गठन गरिएका छन्। प्रदेश स्तरमा लुम्बिनी, बागमती र सूदुरपश्चिममा युवा परिषद् गठन गरिएको छ। यद्यपि अझै पनि युवाका मुद्दा किन सम्बोधन हुन सकिरहेको छैन त?