साउनमा निक्षेपको ब्याजदर घट्दै, बैँकहरुले कति घटाउँदैछन् ? 

काठमाण्डौँ - बैंकिङ प्रणालीमा ४ खर्बभन्दा धेरै कर्जा लगानी योग्य पुँजी थुप्रिएपछि बैंकहरूले साउनमा निक्षेपको ब्याजदर घटाउने तयारी गरिरहेका छन् । अहिले बैंक तथा वित्तीय संस्थाहरूको कर्जा निक्षेप अनुपात ८२.०३ प्रतिशत छ । बैंकहरूले निक्षेपको ९० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउने व्यवस्था छ । 

बैंकहरूको एक अपासमा कारोबार गर्ने अन्तर बैंक ब्याजदर समेत १.३६ प्रतिशत छ । बैंकहरूले बढी भएको यस्तो रकम राष्ट्र बैंकमा राख्दा समेत औसत २.५४ प्रतिशत ब्याज पाइरहेका छन् । बैंकहरू निक्षेपको ब्याजदर घटाउने तयारीमा छन् । बैंकहरूले निक्षेपको ब्याजदर परिर्वतन गर्दा औसत १० प्रतिशत बिन्दुले मात्रै घटबढ गर्न सक्ने व्यवस्था गरेका छन् । 

यही कारण साउनमा निक्षेपको ब्याजदर अधिकतम ८.९९ प्रतिशतसम्म हुन सक्ने देखिएको छ । असारको लागि वाणिज्य बैंकहरूले साधारण निक्षेपमा ५.४ देखि ७.४ प्रतिशतसम्म र मुद्दतीमा ७.९९ देखि ९.९९ प्रतिशतसम्म ब्याजदर दिइरहेका छन् ।