दादुराको प्रकोपबाट बाँकेमा एक जनाको मृत्यु, यी हुन् प्रभावित १६ जिल्ला

काठमाडौं - दादुराको प्रकोपबाट बाँकेको नेपालगञ्जमा एक जनाको मृत्यु भएको छ ।

प्रभावित विभिन्न १६ वटा जिल्लाका १००३ जना विरामीमध्ये एक जनाको मृत्यु भएको स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाले जनाएको छ ।

महाशाखाले हिजो शुक्रबार जारी गरेको ‘दादुरा प्रकोप वस्तुस्थिति प्रतिवेदन–२०८०’ अनुसार आर्थिक वर्ष २०७९/०८० को हालसम्म मोरङ, सुनसरी, धनुषा, महोत्तरी, सर्लाही, चितवन, काठमाडौं, कपिलवस्तु, अर्घाखाँची, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र बाजुरामा प्रकोप देखिएको छ ।

‘यो आर्थिक वर्षको हालसम्म कुल १००३ दादुराका बिरामी भेटिएका छन् र नेपालगञ्ज–बाँकेमा दादुराबाट एक जनाको मृत्यु भएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘बाँके जिल्लाले पुस २०७९ मा ६ महिना देखि १५ वर्ष उमेरका १ लाख ७३ हजार ३२४ बालबालिकालाई दादुरा खोप लगाएको छ । तीन जिल्ला (कैलाली, सुनसरी महोत्तरी) मा बढी प्रभावित नगरपालिका (धनगढी उपमहानगरपालिका, गौरीगंगा, गोदावरी, बर्जु नगरपालिका भरी र गौशाला नगरपालिकाको २५ वडा नम्बरमा) मा ६ महिना देखि १५ वर्ष सम्मका बालबालिकालाई दादुरा खोप लगाइयो । प्रकोप प्रभावित जिल्लाहरूमा हालसम्म कुल २ १५,०५४ जनालाइ दादुराको खोप लगाइएको छ ।’

यस्तै, परिवार कल्याण महाशाखाले यहि आर्थिक वर्षभित्र दादुरा प्रकोपबाट अति प्रभावित ९ जिल्ला मोरङ, सुनसरी, महोत्तरी, दाङ, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र बाजुरामा दादुरा खोप अभियानको समन्वय र सञ्चालन गरी १६ लाख ८१ हजार ८५१ जना बालबालिकालाई दादुरा खोप लगाउने लक्ष्य लिएको उल्लेख गरिएको छ ।