परराष्ट्र मन्त्रालयले भन्यो- इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा, मुख्य संकट टर्‍यो

नेपालबाट इजरायलमा गएका सबै विद्यार्थीहरुलाई सुरक्षित स्थानमा सारिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाली दूतावासको टोलीसँग सम्पर्कमा रहेका उनीहरूलाई इजरायलले हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले अनलाइनखबरसँग भनिन्, ‘इजरायलको सेनाको सहयोगमा लगभग सबै विद्यार्थीहरुलाई हामीले सुरक्षित स्थानमा पुर्‍याइसक्यौं । रातिसम्म मेरो जानकारीमा भएअनुसार ५० भन्दा बढी विद्यार्थीहरुलाई स्थानान्तरण गरिएको छ ।’ मुख्य संकट अब टरेको र इजरायली सेनाले पनि आफ्नो क्षेत्र नियन्त्रणमा लिइसकेको भन्दै लम्सालले विद्यार्थीहरु र तिनका अभिभावकहरुलाई नआत्तिन आग्रह गरिन् । प्रवक्ता लम्सालले भनिन्, ‘सबै सुरक्षित हुनुहुन्छ । अब केही दिन धैर्य गर्नुस्, सरकारले उपयुक्त समयमा र सुरक्षित तरिकाले सबैलाई उद्धार गर्छ । उद्धार कार्यका लागि साथीहरु रातभर नसुती खट्नु भएको छ । दूतावासका साथीहरुले पनि बंकरभित्रै बसेर काम गरिरहनु भएको छ ।’ इजरायलको सेनाको सहयोगमा घाइतेहरुको उपचार र सम्पर्कविहीन भएकाको खोजी जारी छ । कोही नेपालीहरु बंकरभित्र बसेर ज्यान जोगाएका थिए । तिनीहरुमध्ये गएराति सुरक्षित स्थानमा सारिएका ३२ जना नेपाली विद्यार्थीहरुको नामावली सार्वजनिक भएको थियो । त्यसपछि पनि त्रिभुवन विश्वविद्यालयका विद्यार्थी टोलीलाई सुरक्षित स्थानमा लैजाँदै गरेको भिडियो प्रधानमन्त्रीको सचिवालयले सार्वजनिक गरेको थियो । कृषि विषय अध्ययनसँगै काम पनि गर्नका लागि विश्वविद्यालयहरुसँग सम्झौता गरी विश्वविद्यालयहरुले जिटुजीमार्फत् विद्यार्थीहरुलाई इजरायल पठाउने गरेका छन् । ती विद्यार्थीहरुको विवरण सरकारसँग भए पनि अरु नै तरिकाले इजरायल गएकाहरुको विवरण भने छैन । त्यसैले विद्यार्थीहरु बाहेक इजरायलमा कति नेपालीहरु छन् र अहिले उनीहरुको अवस्था कस्तो छ भन्ने जानकारी नभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । इजरायलमा करिब ४ हजार ५०० नेपालीहरु रहेको अनुमान गरिएको छ । इजरायलस्थित नेपाली दूतावासले नेपाल फर्किन चाहनेहरुका लागि अनलाइन रजिष्ट्रेसन जारी राखेका छ । उक्त डाटाबेसमा २०० भन्दा बढीले नेपाल फर्किने इच्छा व्यक्त गर्दै नाम दर्ता गराएका छन् । नेपाली विद्यार्थीहरुसँगै नेपाल फर्किन चाहने अन्य नेपालीहरु र दिवंगत विद्यार्थीहरुको शवलाई उडान अनुमति पाउनासाथ नेपाल ल्याइने परराष्ट्र मन्त्रालयकी प्रवक्ता लम्सालले बताइन् । अहिले पनि युद्धकै अवस्था भएकाले नेपालबाट जहाज पठाउन नसकिएको उनको भनाइ छ । सरकारले नेपालीहरुको उद्धारका लागि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सलाई तयारी अवस्थामा राखेको जनाएको छ । नेपालीहरुको उद्धारका लागि आवश्यक परे मित्र राष्ट्रहरुसँग पनि सहयोग माग्ने विकल्प पनि खुला राखेको प्रवक्ता लम्सालले बताइन् ।