केपी ओली र प्रचण्ड विरुद्ध खनिएका प्रसाईंले गरे गुनगान

दुर्गा प्रसाईंले आफूविरुद्ध कालोमोसो दलेर नेकपा एमालेले पतनको बाटो अपनाएको दाबी गरेका छन् । एमाले पार्टीविरुद्ध खनिएका प्रसाईंले सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको भने गुनगान गाउँन भ्याएका छन् । उनले केपी ओली हजुरबा भन्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नारायणकाजी श्रेष्ठहरूमा धेरै राजनीतिक चरित्र रहेको दाबी समेत गरे । ‘हजुर बुबामा राजनीतिक चरित्र देखिएन, बरु प्रचण्ड र नारायणकाजी श्रेष्ठमा राजनीतिक चरित्र देखियो’, प्रसाईंले भने, ‘एमालेले मलाई ठुलो गुन लगायो । नेता बनायो । ट्रेडमार्क बनायो । एमालेसँग प्रतिस्पर्धा गर्ने दुर्गा प्रसाईं हो भन्ने ठान्यो ।’ एमाले र माओवादी मिलेर बनेको नेकपा हुँदा प्रचण्ड र ओलीका प्रिय पात्र बनेका उनै प्रसाईं पछि नेकपा भंग भएपछि एमाले प्रवेश गरेका थिए । एमाले अध्यक्ष ओलीसँगको हिमचिमकै कारण सौराहमा सम्पन्न एमालेको १०औं महाधिवेशनबाट ५ दशकसम्म पार्टीमा योगदान दिएका कर्तव्यनिष्ठ नेताहरुलाई पाखा लगाउँदै एमालेको केन्द्रीय सदस्य बनेका थिए । एमाले अध्यक्ष ओलीको निगाहकै कारण एमालेको उद्योग विभागको उपप्रमुखसमेत बन्न भ्याएका प्रसाई पछिल्लो समय देशमा अराजकता बढेको भन्दै राजा फर्काउने अभियानमा लागेका छन् । उनलाई एमालेले पनि पार्टीबाट निष्कासित गरिसकेको छ ।