सिक्रे दोभान पहिरो अपडेट : मृतकको संख्या ४ पुग्यो !

 मकवानपुर - मकवानपुरको बागमती र काभ्रेपलाञ्चोकको खानिखोला गाउँपालिका छुट्टाउने सिक्रे दोभानमा पहिरो घर बगाउँदा बेपत्ता भएका मध्ये थप एकजना मृत फेला परेका छन् ।

मंगलबार बिहान भारी वर्षासँगै पहिराले घर बगाउँदा बेपत्ता भएका मध्ये डेढ वर्षीया दिब्या पहरी सिन्धुली हरिहरपुरगढी–३ बनौलि स्थित बागमती खोलाको किनारमा बुधबार साँझ मृत फेला परेकी हुन् ।

यसअघि बुधबारनै दिब्याको हजुरबुबा ६० वर्षीय अक्कलबहादुर स्याङ्तान र आमा २२ वर्षीया शिला पहरी मृत फेला परेका थिए । पहिरोमा पुरिएर बेपत्ता भएका उनीहरूको शव सिन्धुली हरिहरपुरगढी–१ कोकरेस्थित बागमती नदीको बीच बगरमा फेला परेको थियो । उनीहरुको शव परीक्षणका लागि हेटौंडा अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ । योसँगै पहिरोमा परेर मृत्यु हुनेको संख्या चार पुगेको छ ।

यसअघि मंगलबारनै अक्कलबहादुरको श्रीमती ५५ वर्षीया सन्त स्याङतानको पहिरोमा परी मृत्यु भएको थियो । पहिरोबाट उद्धार गरिए पनि उनको उपचारको क्रममा मृत्यु थियो ।

पहिरोमा परेका सिन्धुली हरिहरपुर–१ का १७ वर्षीय पासाङ घिसिङको भने साँझ जीवितै उद्धार गरिएको थियो । घिसिङको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । पहिरोमा परेर दुई जना अझै बेपत्ता छन् । बेपत्ता हुनेमा मृतक अक्कलबहादुरका ज्वाइँ २५ वर्षीय जीवन पहरी र उनका छोरा चार वर्षीय मिलन पहरी रहेका छन् । उनीहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।