गैंडाको खाग तस्करी गर्ने संगठित गिरोह पक्राउ, एउटा खाग २० लाखमा मोलमोलाई

काठमाडौ - प्रहरीले गैडाको खाग तस्करी भएको आरोपमा १५ जनालाई पक्राउ गरेको छ। चितवन राष्ट्रिय निकुञ्जमा केही समयदेखि मृत गैडाहरु फेला पर्न थालेपछि केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)ले ‘रुट टु रुट’ अप्रेशन अन्तर्गत १५ जना आरोपीलाई पक्राउ गरेको हो।

सिआइबीले उनीहरु संगठित रुपमा गैंडाको खाग तस्करीमा संलग्न रहेको जनाएको छ। सिआईबीले चितवनमा गैंडाको शिकार गर्ने मुख्य शिकारीलाई पनि पक्राउ गरेको दावी छ।

सिआईबीका अनुसार गैंडा शिकारी सोम बहादुर चेपाङ उर्फ राजु पक्राउ परेका छन्। चितवनको कालिका नगरपालिका वडा नम्बर-९ शेरबास बस्ने ३९ वर्षका सोम बहादुरलाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता (एसपी) सञ्जय सिंह थापाले जानकारी दिए।

मंसिर १८ मा चितवनको खगेडी खोलामा गैंडा मृत भेटिएको थियो। चतुरमुखी सामुदायिक बन उपभोक्ता समूह र भरतपुर महानगरपालिका–११ स्थित नव जागृति सामुदायिक बन उपभोक्ता समितिको सिमानामा भेटिएको सो गैंडा मारेर राजुको समूहले खाग काटेर लगेको प्रहरीको अनुसन्धानमा देखिएको छ। अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार सोमबहादुरले सो गैंडालाई गोली हानेर शिकार मारेका हुन्।

एसपी थापाका अनुसार राजुसँगै पक्राउ पर्नेमा इच्छाकामना गाउँपालिका घर भएकी ३० वर्षीया तुलसी चेपाङ, ३९ वर्षीय बीरमान वाइबा, कालिका नगरपालिका घर भएका ३० वर्षीय राधाकृष्ण चेपाङ, भरतपुर महानगरपालिका–८ गौरिगञ्ज घर भएका ५२ वर्षीय आइत बहादुर तामाङ छन्।

एसपी थापाका अनुसार चितवनको खगेडी खोलाबाट तस्करी गरेको गैंडाको खाग बेच्न दुईजनाले काठमाडौंमा कुराकानी गरिरहेका बेला काठमाडौं महानगरपालिका-७ स्थित सरस्वती नगरमा खाग बेच्न खोज्दा दुई जना पक्राउ परेपछि गिरोहनै फन्दामा परेको प्रहरीको दावी छ।

झापाको भद्रपुर नगरपालिका-१० घर भएका ४५ वर्षीय इन्द्रमणि आचार्य र बाँकेको कोहलपुर घर भएकी ४१ वर्षीया जमुना कुमारी शर्मा। जमुना र इन्द्रमणीलाई गैंडाको खाग सहित प्रहरीले पुस १९ मा पक्राउ गरेको थियो। उनीहरुले सो खाग २० लाखमा बेच्न ‘डिल’ गरेका थिए। उनीहरुको बयानको आधारमा शिकारी सहित थप १३ जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा पाल्पाको भुवनपोखरी घर भएका ६२ वर्षीय बाबुलाल भट्टराई, कैलाली मसुरियाका ६१ वर्षीय गजाधर सापकोटा उर्फ गणेश, कैलालीको घोडाघोडी नगरपालिका घर भएका ३६ वर्षीय प्रताप चौधरी छन्।

माघ २० मा ब्यूरोको टोलीले भोजपुर घर भएर चाबहिल बस्ने ४५ वर्षीय डम्बर कुमार आले, गोरखा पालुङटार बस्ने दान बहादुर राना र स्याङ्जा पुतलीबजारका ४६ वर्षीय निर्मल शाहीलाई पक्राउ गरेको थियो। माघ २२ मा स्याङ्जाको वालिङ नगरपालिका-८ घर भएकी ३८ वर्षीया हरिमाया राना पक्राउ परिन्।

माघ २४ मा चितवनको शक्तिखोरबाट ४० वर्षीया सम्झना चेपाङ भन्ने कमला तामाङ पक्राउ परिन्। उनलाई चितवनको भरतपुर नगरपालिका-८ स्थित गौरिगञ्जबाट पक्राउ गरिएको एसपी थापाले बताए।

२०७९ माघ ६ मा पनि नवलपरासीको मध्यबिन्दु नगरपालिका-२ स्थित नारायणी नदीको उत्तरी किनारमा दुईवटा गैंडा मृत भेटिएका थिए । ती गैंडालाई विद्युतीय धरापमा पारेर मारेको प्रहरीको दावी छ।

मृत दुइटा गैंडा मध्ये शिकारीले एउटाको खाग काटेर लगेका छन्। त्यसबारे अनुसन्धान भइरहेको तिवारीले बताए। उनका अनुसार चितवन राष्ट्रिय निकुञ्जमा बाघ, हात्ती र गैंडा शिकार गरेर अंग बेचेको आरोपमा ९० जना भन्दा धेरै फरार छन्।

गैंडा शिकारी सोमबहादुर चेपाङले कमला तामाङ उर्फ सम्झनासँग मिलेर खाग बेच्ने योजना बनाएको अनुसन्धानबाट थाहा भएको छ। सम्झनाले गैंडाको खागको तस्बिर हरिमाया रानाको मोबाइलमा पठाइन्। हरिमायाले निर्मल शाहिलाई खागको तस्बिर पठाएर ग्राहकको खोजी गर्ने योजना बनाएका थिए।

चितवनको भरतपुर महानगरपालिका-८ बस्ने सम्झना चेपाङ भन्ने कमला तामाङले बिरमान वाइबाको सहयोगमा सो खाग मंसिर १ मा काठमाडौं पठाएको थाहा भएको छ। आरोपीहरुले काठमाडौंमा खाग ल्याएर २० लाखमा बेच्नेगरी निर्मल शाहीलाई दिएका हुन्।

निर्मलले सो खाग दान बहादुर राना र डम्बर बहादुर आले मगरको सहयोगमा बाबुलाल भट्टराई, गजाधर सापकोटा र प्रताप चौधरीको समूहलाई दिएको प्रहरीको दावी छ।