नेपालकै पहिलो ‘फ्लाइओभर’को यसरी भइरहेको छ निर्माण

काठमाडौँ - बलम्बुमा निर्माणाधीन मुलुककै पहिलो फ्लाइओभरको काम आधाभन्दा बढी सम्पन्न भएको छ । फ्लाइओभर आगामी वर्षदेखि सञ्चालनमा ल्याइने नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाले जानकारी दिएको छ । 

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण आयोजनाका उपनिर्देशक गोविन्द डमरूले निर्धारित समयमा काम सम्पन्न गर्ने लक्ष्यसहित अहिले तीव्र रूपमा आयोजनाको काम भइरहेको बताए । उनका अनुसार फ्लाइओभरको सहायक संरचनाका रूपमा निर्माण गर्नुपर्ने पाँच वटा पाइलमध्ये दुई वटाको निर्माण सम्पन्न भइसकेको छ । त्यसै गरी एउटा पाइलको जग हाल्ने काम सम्पन्न भइसकेको छ । फ्लाइओभरको निर्माण अवधि सन् २०२४ अप्रिल २५ सम्म रहेको छ ।

निर्माणाधीन नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएसँगै सवारीसाधन राजमार्गबाट सुरुङमार्गतिर मोडिँदा हुन सक्ने ट्राफिक जामलाई न्यूनीकरण गर्ने उद्देश्यसहित फ्लाइओभरको निर्माण भइरहेको छ । 

फ्लाइओभर निर्माणका लागि सोको क्षेत्राधिकार राइट अफ–वेमा पर्ने १२ रोपनी जग्गा अधिग्रहण गर्नुका साथै पक्की र टहरा गरी कुल ५७ वटा संरचना भत्काइएको छ । फ्लाइओभरको क्षेत्राधिकारमा पर्ने जग्गाधनीले प्रतिआना ५० लाख रुपियाँका दरले मुआब्जा पाएका छन् ।

आयोजनाका उपनिर्देशक डमरूका अनुसार पृथ्वी राजमार्गबाट सुरुङमार्गको काठमाडौँतर्फको पोर्टलसम्म पुग्न फ्लाइओभर निर्माण गर्न लागिएको छ। राजमार्गको बिचको दुई लेनबाट सो फ्लाइओभरलाई जोडिने छ ।  फ्लाइओभर निर्माण भइसकेपछि बलम्बु क्षेत्रमा पृथ्वी राजमार्गको दुई लेन सो फ्लाइओभरका लागि नै प्रयोग गर्नु पर्ने हुन्छ । यो समाचार गोरखापत्र दैनिकमा छ  ।