images

निर्माण उद्योगको समस्या समाधान गर्न राज्य उदासीन :निर्माण व्यवसायीहरू

जेठ २७, काठमाडौं । निर्माण व्यवसायीहरूले निर्माण उद्योगको समस्या समाधानका लागि राज्य गम्भीर नभएको आरोप लगाएका छन् । नेपाल निर्माण व्यवसायी महासंघका एशोसिएट सदस्य समन्वय समितिको बाह्रौं साधारण भेलामा व्यवसायीहरूले निर्माण उद्योगमा चुनौतिका चाङ रहेपनि समस्या समाधानमा राज्य उदासिन भएको बताएका हुन् । भेलालाई सम्बोधन गर्दै महासंघका अध्यक्ष एवं भेलाका प्रमुख अतिथि रवि सिंहले महासंघ सँग विगतमा गरेका सहमति लागू नगर्नु राज्यको लाचारी भएको टिप्पणी गर्नुभयो । आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्नु अघि राज्यले निर्माण व्यवसायीहरूसँग कुनै सर सल्लाह नगरेको बताउँदै अध्यक्ष सिंहले निर्माण उद्योग चलायमान नभएकै कारण अर्थतन्त्रमा निरन्तर समस्या आइरहेको दाबी गर्नुभयो । देशभरका सबै तह र तप्काका निर्माण व्यवसायीहरू एकजुट भएमा निर्माण उद्योगको समस्या समाधान गर्ने दिशामा राज्यलाई सशक्त दबाब दिन सकिने अध्यक्ष सिंहले बताउनुभयो । प्रतिनिधि सभा सदस्य पूर्णबहादुर तामाङले निर्माण व्यवसायीहरूलाई कर्मचारीतन्त्रबाट पूरै असहयोग भइरहेको भन्दै निर्माण उद्योगको महत्व कसैले बुझ्न नसकेको बताउनुभयो । निर्माण व्यवसायीहरूको हक हितको रक्षार्थ महासंघले दबाबमुलक कार्यक्रम गर्नुपर्ने सुझाव उहाँले दिनुभयो । महासंघका सल्लाहकार एवं पूर्व अध्यक्ष रमेश शर्माले राज्यले निर्माण व्यवसायीहरूको अरबौं भुक्तानी नदिँदा व्यवसायीहरूले विगतमा पाएका सहुलियत समेत अहिले नपाउनु ठूलो अन्याय भएको प्रतिक्रिया व्यक्त गर्नुभयो । महासंघका सल्लाहकार एवं पूर्व अध्यक्ष यक्षध्वज कार्कीले निर्माण व्यवसायीहरूको एकता आजको मुख्य आवश्यकता भएको बताउनुभयो ।  महासंघका अर्का सल्लाहकार एवं पूर्व अध्यक्ष जयराम लामिछानेले निर्माण उद्योग अत्यन्त कठीन मोडमा पुगेको बताउँदै क्रियाशील निर्माण व्यवसायीहरूलाई नटिकाई अरु निर्माण व्यवसायीहरूको संख्या बढाउँदै लैजानु अनुचित भएको तर्क गर्नुभयो ।

महासंघका निवर्तमान अध्यक्ष विष्णुभाइ श्रेष्ठले ठेक्का सम्झौता विपरीत जाने निर्माण व्यवसायीलाई कार्वाही हुँदा कर्मचारीले भने उन्मुक्ती पाउनु प्राकृतिक न्यायको सिद्धान्त विपरित भएको धारणा राख्नुभयो । भेलाको सभाध्यक्ष समेत रहनु भएका महासंघ एशोसिएट सदस्य समन्वय समितिका संयोजक रामजी पन्त ‘मुकेश’ ले आर्थिक वर्ष २०८१/८२ को बजेटबाट निर्माण उद्योगमा देखिएको समस्या समाधान हुन नसक्ने बताउनुभयो । भुक्तानी, मूल्य समायोजन, निर्माण व्यवसायीलाई दिनुपर्ने सहुलियत, विगतका सहमतिको पालना लगायतका कुनै पनि मुख्य विषय बजेटले सम्बोधन नगर्दा निर्माण व्यवसायीहरू निराश भएको उहाँले बताउनुभयो ।  महासंघका महासचिव रोशन दाहालले सबै खालका निर्माण व्यवसायीहरूका समस्या समाधान गर्न महासंघको वर्तमान नेतृत्व प्रतिबद्ध रहेको बताउनुभयो । सुदूरपश्चिम निर्माण व्यवसायी महासंघका अध्यक्ष लक्ष्मण स्वार, नेपाल राष्ट्रिय निर्माण व्यवसायी संगठनका महासचिव मंगल शाही लगायतले सबै निर्माण व्यवसायीहरू एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभयो । भेलामा एशोसिएट समन्वय समितिको तर्फबाट सचिव नवराज श्रेष्ठ र कोषाध्यक्ष लक्ष्मी बस्नेत कार्कीबाट प्रस्तुत वार्षिक प्रतिवेदन पारित भएको थियो । महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (ए.डी.) ले नेपालको निर्माण उद्योग र निर्माण व्यवसायीहरूको भूमिका तथा महासंघका कानून सल्लाहकार वरिष्ठ अधिवक्ता टंकप्रसाद दुलालले विद्यमान सार्वजनिक खरिद ऐन तथा नियमावलीका विविध पाटोबारे प्रकाश पार्नु भएको थियो । धन्यवाद ज्ञापन गर्दै एशोसिएट समन्वय समितिका सहसंयोजक एन.सी शेर्पाले भेलाले पारित गरेका प्रस्तावहरू कार्यान्वयनका लागि तत्काल पहल गरिने बताउनुभयो । सोही अवसरमा एशोसिएट समन्वय समितिले नेपालका लागि किर्गिज गणतन्त्रको अवैतनिक राजदूत नियुक्त महासंघका पूर्व अध्यक्ष एवं सल्लाहकार रमेश शर्मालाई सम्मान गरेको थियो ।

आइतबार​ २७ जेठ २०८१ ०३:०५ PM मा प्रकाशित

प्रतिक्रिया