“फर्की फर्की “ चलचित्र ओसाकामा प्रदर्शन हुने

ओसाका/जापान। नेपाली चलचित्र ‘फर्की फर्की’ जापानको ओसाकामा प्रदर्शन हुने भएको छ । मेघास्टार अनमोल केसीको मुख्य भुमिका रहेको चलचित्र जापानको ओसाका स्थित मिनातो कुमिङ सेन्टरमा १५ जुनमा प्रदर्शन हुने भएको हो ।

तामाङ समाज जापान क्षेत्रीय समिति कान्साईको आयोजनामा चलचित्र प्रदर्शन हुन लागेको हो । चलचित्र प्रदर्शनलाई विशेष बनाउनको लागि नायक अनमोल केसी र निर्देशक सुयोग गुरुङ जापान आउने तामाङ समाज जापान क्षेत्रीय समिति कान्साईका अध्यक्ष राज लामा थिङले जानकारी दिए । नायक अनमोल केसी र निर्देशक गुरुङलाई रेड कार्पेटमा स्वागत गर्ने तयारी भएको आयोजकले जानकारी दिए । चलचित्र भव्यताको साथ प्रदर्शनको तयारीमा रहेको आयोजक संस्थाका अध्यक्ष लामा थिङले जानाएका छन् ।

जुन १५ तारिख साँझ ५ः३० बजे गेट खुल्ने छ भने ६ः०० बजेबाट चलचित्र प्रदर्शन हुने आयोजकले जानकारी दिए । चलचित्र प्रदर्शनको बिषयमा थप जानकारी लिन चाहेमा आयोजक संस्थाका राज लामा थिङ र निर्वतमान अध्यक्ष अमर लामासँग सम्पर्क गर्न सकिने बताईएको छ।