फागुनको निक्षेप ब्याजदर राष्ट्र बैंकको निर्णयमा भर पर्ने

काठमाडौँ - नेपाल बैंकर्स संघले फागुनमा निक्षेपको ब्याजदर तलमाथि नगरी अहिलेकै यथावत राख्ने भएको छ । संघको आज बसेको बैंठकले फागुनमा निक्षेपको ब्याजदर हालकै कायम गर्ने सहमति भएको एक सदस्यले बताए ।

हाल व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ११ प्रतिशत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर ९ प्रतिशत छ । बैंकर्स संघका अनुसार नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिको समीक्षाले घटाएमा निक्षेपको ब्याजदर पनि घट्नेछ । नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दैछ । मौद्रिक नीतिको समीक्षा गर्न राष्ट्र बैंकको सञ्चालक समितिको बैठक शुक्रबार बिहान बोलाएको छ ।

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछि आइतबारसम्ममा ब्याजदर प्रकाशित गरिने बैंकर्स संघले जनाएको छ ।