माओवादी केन्द्रले एक पद एक कार्यकारी जिम्मेवारीको नीति अवलम्बन गर्ने

काठमाडौँ - नेकपा माओवादी केन्द्रले एक पद एक कार्यकारी जिम्मेवारीको नीति अवलम्बन गर्ने भएको छ । गत माघ १२ गतेदेखि २१ गतेसम्म काठमाडौंमा बसेको स्थायी समिति बैठकले एक पद एक कार्यकारी जिम्मेवारी तोक्ने निर्णय गरेको पार्टी कार्यालय सचिव श्रीराम खनालले जानकारी दिए । केन्द्रदेखि वडातहसम्मै यहि निति लागू गर्ने पार्टीको निर्णय भएको छ ।

केन्द्रमा पनि विभिन्न विभागहरुमा जिम्मेवारी तोक्न बाँकी रहेकाले एक पद एक कार्यकारी जिम्मेवारीको नीति अनुसार नै तोक्ने, प्रदेश, जिल्ला, स्थानीय तहमा पनि यही नीति लागू हुने छ ।

यस्तै,प्रदेश समन्वय समितिको बैठक राखेर सबै केन्द्रीय सदस्य र प्रदेश सदस्यसहितका सबैको जिम्मेवारी तोक्दा एक पद एक कार्यकारी जिम्मेवारीको नीति अनुसार नै जिम्मेवारी तोक्नुपर्ने पार्टीले पठाएको सर्कुलरमा पनि उल्लेख गरेको छ ।

जसअनुसार प्रदेश समन्वय समितिको बैठक फागुन ५ गतेसम्म गरी सक्ने निर्णय छ भने प्रदेश नं। १ र बागमती प्रदेश माघ २७ गते, मधेश प्रदेश माघ २८ गते, गण्डकी प्रदेश माघ २९ गते, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेश फागुन २ गते, कर्णाली प्रदेश र प्रवास प्रदेश फागुन ३ गते, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश फागुन ३ गते बैठक गर्ने निर्णय गरेको छ ।