मकवानपुरको सिक्रेदोभानमा पहिरोमा परि बेपत्ता भएका ६ जनाकाे परिचय खुल्यो

मकवानपुर - मकवानपुरको सिक्रेदोभानमा पहिरोले घर बगाउँदा उद्धार गरिएकी एक महिलाको ज्यान गएको छ । अरु ६ जना अझै बेपत्ता भएका छन् ।

 बिहान ४ बजे बाग्मती गाउँपालिका वडा नम्बर–५ सिक्रेदोभानमा भलसहित आएकाे पहिरोले घर बगाएको हो ।

स्थानीय अक्कलबहादुर स्याङ्तानको घर पहिरोले बगाउँदा उद्धार गरिएकी उहाँकी श्रीमती ५५ वर्षीया सन्तमाया स्याङ्तानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

पहिरोमा परि ६० वर्षीय अक्कलबहादुर स्याङ्तान, उहाँकी छोरी २२ वर्षीया शीला पहरी, ज्वाइँ २५ वर्षीय जीवन पहरी, नाती ४ वर्षीय मिलन पहरी, नातिनी डेढ वर्षकी दिव्या पहरी र पाहुना गएका सिन्धुलीको हरिहरपुर गाउँपालिका वडा नम्बर–१ कोकटीका १७ वर्षीय पासाङ घिसिङ बेपत्ता भएका प्रहरीले जनाएको छ ।