images

ई–स्पोर्ट्स पदक विजेता पुरस्कृत

काठमाडौं । ई–स्पोर्ट्स संघ नेपालको आयोजनामा भएको प्रथम राष्ट्रिय ई–स्पोर्ट्स च्याम्पियनसिपका पदक विजेतालाई सोमबार पुरस्कृत गरिएको छ । मोबाइल लिजेन्ड र ई–फुटबलका पदक विजेतालाई नगदसहित पुरस्कृत गरिएको हो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले खेलाडीलाई ट्रफी र नगद प्रदान गरी एक कार्यक्रमबीच पुरस्कृत गरे ।
मोबाइल लिजेन्डमा शीर्ष आठ स्थान हासिल गर्ने क्रमशः हाइ भोल्टेजले ६० हजार, कोड रेडले ४० हजार, सिक्सटी नाइन गेमिङले ३० हजार, वीरे नुनले २० हजार, मिडनाइट ह्याभक र हेल्लो किटिसले समान १५–१५ हजार तथा मिडनाइट ह्याभक २.० र गुड नाइटले समान १०–१० हजार नगद पुरस्कार पाए ।
ई–फुटबलमा पहिलो भएका गौरव पुडासैनीले ४० हजार, दोस्रो भएका सन्देश ओझाले ३० हजार, तेस्रो भएका रोशन शर्माले २० हजार तथा चौथो भएका निखिल हमालले १० हजार नगद पुरस्कार प्राप्त गरे । प्रतियोगिता सुर्खेतमा असार १४ देखि १५ गतेसम्म भएको थियो ।
कार्यक्रममा सदस्य–सचिव घिसिङले ई–स्पोर्ट्स संघलाई जिम्मेवारी दिएको छोटो समयमा प्रतियोगिता आयोजना गर्न सफल भएकोमा बधाइ दिदै ई–स्पोर्ट्सलाई अझ व्यवस्थित ढंगले अगाडि बढाएर देशको प्रतिष्ठा अभिबृद्धि गर्ने माध्यम बनाउनुपर्नेमा जोड दिए ।
सदस्य–सचिव घिसिङले ई–स्पोर्ट्स समाजको विकास चरणले मागेको खेल भएको बताउदै आजको पुस्ता कुन खेलतर्फ आकर्षित छ भन्ने कुरालाई मध्यनजर गरी त्यही अनुरुप सरकारले लगानी बढाउनु पर्ने आवश्यकता औल्याए ।
उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडी सहभागी हुँदा कुनै व्यक्ति विशेष नभइ सिंगो देशको प्रतिनिधित्व सम्झनुपर्ने बताउँदै संघलाई आसन्न एसियाली इन्डोर गेम्सको तयारीमा जुट्न निर्देशन दिए ।
 

सोमबार २४ असार २०८१ ०८:५२ PM मा प्रकाशित

प्रतिक्रिया