१४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको निर्माण सकियो, उत्पादन सुरु कहिले ? 

बेनी - म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको भौतिक संरचनाको निर्माण सकिएको छ ।  म्याग्दी हाइड्रोपावर प्राली प्रर्वद्धक रहेको आयोजनाको भौतिक संरचना निर्माण सकेर परीक्षण थालेको छ । बाँध र डिसेन्डर पानी थिग्राउने पोखरीमा पानी हालेर यसै सातादेखि परीक्षण थालेको आयोजनाको विद्युतगृहमा उपकरण जडानको काम अन्तिम चरणमा पुगेको छ । 

आयोजनाका जनसम्पर्क अधिकृत प्रकाशचन्द्र पौडेलले बाँधबाट डिसेन्डरमा पानी हालेर परीक्षण थालिएको जानकारी दिए । ‘डिसेन्डर,एप्रोच क्यानल,टनेल,पेनस्टकको क्रमैसँगै परीक्षण हुन्छ,’उनले भने, ‘भौतिक संरचनाहरूको अवस्था ठिक भए नभएको पहिचान गर्न पानी हालेर परीक्षण गरिएको हो ।’
 
अबको १५ दिनभित्र विद्युतको परीक्षण उत्पादन सुरु गर्ने लक्ष्यसहित भौतिक संरचनाको परीक्षणसँगै उपकरण जडान,प्रशारण लाइन र स्विचार्ड निर्माणलाई अन्तिम रुप दिन लागिएको जनसम्पर्क अधिकृत पौडेलले बताए ।