घरमै स्वादिस्ट मटन बिरयानी बनाउने यस्तो छ तरिका :

काठमाडौँ - आज  खसीको मासुको परिकार एकदमै  मिठो मटन बिरयानी कसरी बनाउने भन्ने बारेमा जानकारी लिएर आएका छौँ । आफ्नै घरमा बसेर आफ्नो आफन्तजन परिवारसंग यसलाई बनाएर खान सक्नुहुने छ । मासु जति धेरै ल्याए पनि सही तरिकाले पकाउन जानिएन भने हाम्रो खर्च व्यर्थ हुन जान्छ।

आवश्यक सामग्री

खसीको मासुः १ केजी
प्याजः  ५ सय ग्राम

लसुनः ४५ ग्राम

अदुवाः ४५ ग्राम

तेजपत्ताः  दुई-चार पत्ता

गरम मसलाः २० ग्राम

केशरः २५  एमएल

घिउः ५० ग्राम

नुनः स्वाद अनुसार

चामलः आवश्यकता अनुसार

बनाउने तरिका

हामीले १ केजी मासु लिएका छौं। तर तपाईंहरूले आफ्नो आवश्यकता अनुसार यसमा घटबढ गर्न सक्नुहुन्छ।

सबभन्दा पहिले भाँडोमा करिब ५० ग्राम घिउ तताउने। घिउ तातेपछि प्याज हाल्ने र त्यसलाई रातो हुनेगरी फ्राइ गर्ने। प्याज फ्राइ भइसकेपछि त्यसमा मासु हाल्ने।

त्यसपछि त्यसमा गरम मसला, अदुवा र लसुन, राखेर केहीबेर पकाउने। त्यस लगत्तै ७ देखि ८ गिलास पानी राखेर छोप्ने। मासु राम्रोसँग पाकेपछि झोल र पिस छुट्याउने। त्यसमा अब करिब ३ गिलास झोल बाँकी रहन्छ।

मटन बिरयानीका लागि भात पनि आवश्यकता पर्छ। त्यसैले चामललाई नुन राखी उसिन्ने। भात राम्रोसँग पाकेपछि त्यसमा रहेको पानी हटाएर सुख्खा बनाउने।

अब अन्त्यमा अघि पाकेको मासु र भात मिसाउने। त्यसमा ‘रोज वाटर’ अर्थात गुलाब जल पनि छर्किने। भात माथि धनियाँ र केशर राख्ने र राम्रोसँग मोल्ने। सबै राम्रोसँग मिसिएपछि फेरि केहीबेर पकाउने।

यति गरेपछि मटन बिरयानी तयार हुन्छ।