शेयर बजारमा हरियाली : नेप्से साढे ७६ अङ्कले बढ्यो, ३ अर्ब ३६ करोड रुपैयाँको कारोबार !

काठमाण्डौँ - शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ७६ दशमलव ६४ अङ्कले बढेर दुई हजार एक सय ७७ दशमलव ३५ विन्दुमा पुगेको छ ।

सबै समूहको शेयर बढेर बजार हरियाली भएकोमा आज माइक्रोफाइनान्स, जलविद्युत्, विकास बैंक र बीमा समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । बजारसँगै कारोबार रकममा पनि निकै सुधार आएको छ । दुई सय ६० वटा कम्पनीका ९३ लाख ३३ हजार कित्ता शेयर तीन अर्ब ३६ करोड २२ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एनआईसी एसिया बैंक बैंकको १२ करोड ९२ लाख रुपैयाँको शेयर किनबेच भयो ।