ईयुको उच्चस्तरीय टोलीद्वारा चिलिमे-त्रिशूली प्रसारण आयोजनाको स्थलगत निरीक्षण

काठमाडौँ - युरोपेली युनियनको उच्चस्तरीय टोलीले निर्माणाधीन चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाको स्थलगत निरीक्षण गरेको छ ।

युरोपेली युनियनको एसिया निर्देशक पिटरिस अस्टस नेतृत्वको उच्चस्तरीय टोलीले सोमबार नुवाकोट र रसुवामा निर्माणाधीन आयोजनाको स्थलगत निरीक्षण गरेको हो ।

आयोजनाअन्तर्गत रसुवाको आमाछोदिङमो गाउँपालिकास्थित थम्बुचेत र नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेंंसीमा २२०र१३२र३३ केभीको क्रमश चिलिमे हव र त्रिशूली थ्री बी हब सबस्टेसन निर्माणाधीन छन् । साथै, चिलिमे हबदेखि त्रिसूली थ्री बी हब सबस्टेसनसम्म २८ किलोमिटर  २२० केभीप्रसारण लाइन निर्माण भइरहेको छ ।

अनुमानित लागत तीन करोड ९० लाख अमेरिकी डलर रहेको आयोजनामा नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र जर्मन विकास बैक केएफडब्लूको अनुदान रहेको छ । युरोपेली युनियनले स्थापना गरेको युरोपेली लगानी बैक इआइबीको आयोजनामा सहुलितपूर्ण ऋण रहेको छ ।

युनियनको उच्चस्तरीय टोलीले त्रिशूली थ्री बी हब सबस्टेसन र रसुवाको उत्तरगया गाउँपालिका–२ स्थित डाँडागाउँमा निर्माणाधीन प्रसारण लाइनको निरीक्षण गरेको थियो । टोलीले नेपाल विद्युत प्राधिकरण, आयोजना व्यवस्थापन, निर्माणमा संलग्न परामर्शदाता र ठेकेदारका प्रतिनिधिहरुसँग आयोजनाको प्रगति, समस्या, निर्माण सम्पन्न हुने मितिलगायतका विषयमा छलफल गरेको थियो ।

टोली प्रमुख पिटरिस अस्टसले आयोजना निर्माणले पछिल्लो समय गति लिएको र अहिलेसम्मको प्रगति सन्तोषकजनक देखिएको उल्लेख गरेको टोलीसँगै स्थलगत निरीक्षणमा जानुभएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

भौगोलिक रुपमा अत्यन्तै जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा टावर बनाउनु पर्ने, भीरैभीर रहेको र सडक पनि नभएकाले ढुंगा गिट्टी, बालुवा, टावरका सामान, पानी मान्छे या खच्चडबाट बोकाएर लैजानु पर्ने, बाढीपहिरो, ठेकेदार तथा परामर्शदाताको कमजोर कार्यसम्पादन, वन क्षेत्रको जग्गा प्रयोगको समस्या, स्थानीयको अवरोध, कोभिड–१९लगायतका कारणले आयोजनाको निर्माण प्रभावित हुँदै आएको थियो । अहिले निर्माणले गति लिएको छ ।

‘निर्माणमा केही ढिलाइ भएकोमा उहाँहरुले विगतमा चासो र चिन्ता व्यक्त गर्दै आउनु भएको थियो, तर निरीक्षण भ्रमणका क्रममा  कामले गति लिई उल्लेख्य प्रगति हासिल गरेको र भौगोलिक रुपमा अत्यन्तै जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा आयोजनाको काम भइरहेको देखेर टोलीले खुसी व्यक्त गर्दै यसको प्रशंसा गरेको छ’, कार्यकारी निर्देशक घिसिङले भने, ‘युरोपेली युनियनले इआइबीमार्फत नेपालको जलविद्युतको उत्पादन, प्रसारण र वितरणमा ठूलो लगानी गर्न खोजेको छ, ६३५ मेगावाटको दूधकोशी जलाशययुक्त आयोजनाको अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुको सहवित्तीयकरणमार्फत लगानी गर्न इच्छा व्यक्त गरेको छ, युनियनका अधिकारीहरु चिलिमे–त्रिशूली प्रसारण लाइन निर्माणमा प्रगति देखिएपछि अन्य थप आयोजनाहरुमा लगानीका लागि सकारात्मक देखिएका छन् ।’

इआइबीले चिलिमे–त्रिशूली प्रसारण लाइनका अतिरिक्त १४० मेगावाटको तनहुँ जलविद्युत आयोजना, मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन र सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका जिल्लाहरुमा विद्युतीकरणका लागि सहुलियतपूर्ण ऋण प्रवाह गरेको छ । केएफडब्लूले नुवाकोट र रसुवामा विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण र सौर्य ऊर्जाका लागि अनुदान उपलब्ध गराएको छ ।