images

स्मार्ट बन्यो मौलिक तीज

केही साता वितिसक्यो तीज पर्वसँग सम्बन्धित तस्विर र भिडियोले सामाजिक संजाल रंगिएको । सारी र लेहेंगा पहिरिएर चिरिच्याट्ट परेका महिलाहरुका तस्वीरले तीज मनाउने तौरतरिका बदलिएको देखाउँछ । स्मार्ट मोबाइलले क्लिक भएका तस्विर फेसबुकका भित्तामा रङ्गिएका छन् । तीजका तस्विर र मोबाइलबाटै अपलोड भएका भिडियोको म्यासेज बक्समा ‘ह्याप्पी तीज’, ‘सो नाइस’ लेखिएका कमेन्टको ओहिरो छ । छिनछिनमा अपडेट भइरहने तीजका तस्विर र भिडियोले हिन्दु धर्मावलम्वीका पर्वहरु अब स्मार्ट बन्दै गइरहेका छन् भन्ने स्पष्ट दृश्य झल्किन्छ । सामाजिक संजालको वालमा मात्र नभइ समग्रमा हिन्दु नारीहरुको महान चाड हरितालिका तीजले सबैतिर रौनक छाएको छ । सामाजिक संजालमा पोष्ट भएका तस्विर र भिडियोले तीज मनाउनैपर्ने बाध्यता त थपिदिएको छ नै त्यो भन्दा पनि मोबाइलबाटै क्लिक भएका सेल्फी पोज अनि तस्विरहरु अपलोड भएन भने तीज खल्लो हुने र ‘मेमोरियल’ हुनै नसक्ने भइसकेको छ । तीज आउनु दुई महिना पहिलेदेखि युट्युब आइसकेका तीजे भाकाले त झनै तीजको माहोल नै तताइसकेको छ । परम्परालाई नियाल्ने हो भने साउन महिनाभरी बस्ने भगवान शिवको बर्तसँगै हातमा लगाइने हरिया रंङ्गका चुरा, हरियो पोते, मेहेन्दी र राता पहिरनले तीज आएको प्रष्ट पार्छ । गाउँघरतिर साँझपख मादलको घिन्ताङ र तीजको भाकाले हिन्दु नारीहरुलाई प्रफूल्लित तुल्याउने गर्छ । घरको कामले थिचिएका महिलाहरुका लागी तीज एक उल्लासको पर्व हुने गर्छ । किनकी कतिपय महिलाहरुले माइतीघर जानका लागी तीज नै पर्खनु पर्ने बाध्यता छ ।  आफ्नो जन्म घर, आमाबुबा, भाइबहिनी, अन्य नातागोता र साथीसंगीलाई चटक्क छोडी पराइघरमा जीवन विताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा महत्वपूर्ण अवसरको रुपमा तीज पर्वलाई लिइन्छ । यस पर्वमा विवाह बन्धनमा बाँधिएका चेलीबेटी माइती घरमा आउने र आफ्ना मनको भावना साटासाट गर्ने गर्दछन् । महिलाहरुलाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झना कम गर्न यो पर्वले ठुलो भुमिका खेलेको हुन्छ । व्यस्तताका कारण माइत घर पुग्न नसकेका महिलाहरुको माइत पुग्ने ठूलो अवसरका रुपमा तीजलाई लिने गर्छन । माइतघर पुगेका चेलीहरु धार्मिक विधी अनुसार आफन्त र साथीसंगी मिलेर पंचमी पूजा गर्ने, मिठो मसिनो बनाएर खाने र रमाइलो गर्ने प्रचलन छ । हुनत तीज हिन्दु नारीहरुको पौराणीक पर्वका रुपमा मानिदै आएको छ । तर पौराणिक पर्वले विस्तारै रुप–रंग बदल्दै गइरहेको छ । धार्मिक विधि फेरबदल आउन थालेको छ । साथै पर्व मनाउने शैली र तौर तरिकामा परिवर्तन आउन थालेको छ । वास्तवमा तीज ‘स्मार्ट’ र ‘मोर्डन’ बन्दै गइरहेको छ । 
अनि ग्ल्यामरस साडी    
नेपाल र नेपालीहरुको पहिचान भनेको चौबन्दी चोलो र फरिया अनि दौरा सुरुवाल र ढाका टोपी हो । नेपाली समाजमा पहिले पहिले साडीलाई महिलाहरुको लाज ढाक्ने उपयुक्त पहिरनको रुपमा लिइन्थ्यो । साडीले धपक्कै शरीर ढाकेपछि महिलालाई असल चरित्र भएकीमा गनिन्थ्यो । तर पछिल्लो समयमा साडी पहिरन गर्ने तरिका बदलिन थालेको छ । कुनै बेला टे«डिसनल आउटफिट साडी यतिबेला ग्ल्याम्मरस बन्न थालेको छ । तीजका बेला आधुनिक महिलाहरुले लगाउने साडीको स्टाइल हेर्दा उहिले लगाइने चौबन्दी चोली र साडी प्रतिको मोह घटदै गएको पाइन्छ ।  बारुले कम्मरमा गज्जबको मुजा बनाएर अड्याइएको साडीमाथि नाभी नदेखिए र पिठ्यूमा खुल्ला नभएको व्लाउस नलगाए हिजोआज साडीको गरिमा नै घटन थालेको भान हुन्छ । साडी लगाउँदा नाभि र पिठ्यू देखाउने होडबाजी चल्न थालेको छ । हिन्दु धर्मावलम्बी नारीहरुलाई लाज ढाक्न मात्र होइन परम्परा धान्न पनि साडीको पहिरन अनिबार्य मानिन्छ ।  तर पछिल्लो समयमा साडी लगाउने तौरतरिका बदलिएको छ । हिन्दु नारीहरुले साउन महिनामा हरियो, तीज र दशैंमा रातो साडी लगाउने गर्छन । हुनत हिन्दु नारीहरुको सौन्दर्यको प्रतिकका रुपमा साडी र गरगहनालाई लिने गरिन्छ । पछिल्लो समयमा युनिक र स्टाइलिस साडीले महिलाहरुलाई सेक्सी र ग्ल्याम्मरस देखिन थालेका छन् । यस्ता साडी पहिरिएर तीजे भाका नाचिएन र तस्विर फेसबुकमा पोष्ट गरिएन भने पाखेको संज्ञा पाइन्छ भन्ने त्रास छ । अस्सीको दशकमा बलिउडका नायिकाहरुले साडी लगाउने तरिका परिवर्तन गरेसँगै नेपाली गाउँ शहरमा पनि तरिका बदलिएको हो । हुन पनि बलिउडका नायिकाहरु साडी पहिरनका मामला ट्रेड सेन्टरकै रुपमा गनिन्छन । बलिउडमा ५० को दशकदेखि साडीको रंग रुप र स्टाइल परिवर्तन हुँदै आएको पाइन्छ । ५० को दशकमा बैजयन्ती माला, माला सिन्हा लगायतका अभिनेतृहरु सिम्पल साडीमा सिल्भर स्क्रिनमा देखा परेका थिए । आधुनिक तथा डिजिटल युगको सुरुवातसँगै साडीको स्टाइल र लुक्स परिवर्तन भएर गएको छ । तीजका भाकामा आधारित कतिपय म्यूजिक भिडियोमा देखिएको साडीको स्टाइलले नेपाली नारीहरुलाई पूर्णरुपमा ग्ल्याम्मरस बनाएको छ । तीजका अवसरमा कतिपय बुटिकहरुमा साडी लगाउने तरिका सिक्न पाइन्छ । जसले नेपाली महिलाहरुलाई सहज बनाएको छ । टे«डिसनल साडीहरु पनि विकिनी व्लाउजमा लगाए पछि बोल्ड र ग्ल्याम्मरस बन्ने गर्छ । नेट जालीदार तथा हलुका साडीहरु साथै बनारसी साडी नेपाली महिलाहरुका रोजाइ हुन । त्यस वाहेक सिल्क, सिफोन, नेट, लेहेंगा, जर्जट साडी पनि नेपाली नारीहरुका लागी छनोटमा पर्छन । हिन्दु महिलाहरुले भाकल पुरा गर्न मन्दिरमा साडी चढाउने प्रचलन पनि छ । तीजमा सजिएका कतिपय नारीहरुले साडी लगाउने तौरतरीकाले पनि साडीलाई ग्ल्याम्मर, बोल्ट फेसनका रुपमा स्विकारेको पाइन्छ । युवतीहरु भन्दा पनि उमेर ढल्केका महिलाहरुले साडी लगाउने तरीकालाई परिवर्तन गर्दै लगिरहेका छन । वयस्क महिलाहरु साडीमा धेरै सेक्सी र बोल्ड देखिन थालेका छन् । 
लेहेंगा र कुर्तामा स्मार्ट    
लेहेंङा र कुर्ता पहिरिएकी नारी हिजोआज स्मार्ट मानिन्छिन । तीज वा अन्य चाडपर्व आएपछि यसको ब्यापार चम्किन्छ । व्यापारसँगै नेपाली महिलाहरु पनि चम्किन्छन् । मोर्डन लेहेंगा र कुर्ता लगाउने प्रतिस्पर्धा नै चल्छ । प्रायजसो तीजका बेला यसको व्यापार धेरै हुन्छ । तीजलाई लक्षित गरी भारत, पाकिस्तान, बंगलादेश, सिंगापुर, थाइल्याण्ड, चीन लगायतका देशबाट मंहगा कुर्ता तथा लेहेंगाहरु नेपाली बजारमा भित्रिने गर्छन । तीज मात्र नभई दशै तिहारका बेला बहुमूल्य पत्थर, सितारा, जरी, चाँदी र सुनको जलपका साथै अतिरिक्त सज्जा गरिएका कुर्ता सुरुवाल र लेङ्गाको माग अत्याधिक बढ्छ ।  दुई दिनको पर्व महिना दिनसम्म उहिले गाउँघरमा माइत आएका साथीसंगीहरु मिलेर पाटी पौवा र चौतारोमा भेला भएर तीजे भाका गीत गाउँदै दर खाने प्रचलन थियो । मादल र ताली पड्काएर भजन र सिलोकमा रमाइलो गर्ने गरिन्थ्यो । यद्यपी, कतिपय गाउँहरुमा यस्तो चलन जीवीतै छ । पौराणिक कालदेखि चलिआएको परम्परालाई जोगाउने प्रयास गरिन्थ्यो । माइत आएका चेलीहरु चाँडै आफ्नै घर नपुगे श्रीमानको हप्की सहनुपर्ने वाध्यता थियो । तर समयानुकुल केही वर्षयता तीज एक महिनासम्मै मनाउने प्रचलन बढेको छ ।  रेष्टुरेन्ट, डिस्कोबार, पार्टी प्यालेसहरुमा दर खुवाउने होडबाजी हुने गरेको छ । राता साडी र गरगहनाको होडबाजी गर्न मंहगा स्थानमा दर खुवाउने प्रचलन बढन थालेको छ । एक दिन माईतीमा आएर खाइने दर महिनौं अघिदेखि खान र खुवाउन थालिएको छ । विभिन्न संघसंस्था र संगठनका महिलाले तीजको दर खाने नाममा चन्दा उठाउने, महँगा हल र पार्टी प्यालेस बुक गर्ने परम्परा बसेको छ । उनीहरूले यसलाई स्वतन्त्रता भन्न रुचाएका छन् । विशेष गरेर शहरी क्षेत्रमा दिनहु जसो पार्टी प्यालेस, होटलदेखि तारे होटलसम्म र डिस्कोमा दर खाने र खुवाउने भन्दै धेरै रकम खर्च गर्ने प्रचलन बढेको छ । जसका कारण तीज महंगो र भद्दा बन्दै गइरहेको छ । 
मोर्डन भाका
तीजमा गाउने गीतको आफनै महत्व र विशेषता छ । धार्मिक र पौराणीक शब्दहरुको संयोजनमा तयार भएका तीजे भाकाले धेरैलाई प्रफूल्लित पार्छ । उहीले तीजमा महिलाले मात्र गीत गाउने प्रचलन थियो । महिला मात्रै नाच्ने गर्थे । गीतमा गाँउ–ठाउँका घटना, चेलीबेटीका दुखपीडा र ब्यथा, मुलुकका घटनाक्रम समेटिन्थे । तर हिजोआज पुरुषले पनि तीजका गीत गाँउन थालेका छन । अन्य दोहोरी गीतमा जस्तै केटाकेटी कम्मर मर्काइ मर्काइ नाच्ने प्रचलन बढेको छ । दोहोरी गीतमा जस्तै केटाकेटीले मायाप्रिती गीत गाँउछन् । केटा र केटी नारिएर नाच्ने प्रचलन बढ्दै गइरहेको छ । अहिलेको प्राय तीजका गीतमा तीजका लय नै भेटिदैन । तीजको भाका, लय र शब्द बिगारेर गाइन्छ । पहिलेको गीतमा पुरुषको स्वर भएपनि चेलिबेटी लिन जाने, माइतीसँगको सम्बन्ध, आमाबुबाको सम्झनाका कुरासँग संवादको रुपमा प्रयोग हुन्थ्यो ।  पहिलेको गीतमा चेलिबेटीका मर्मस्पर्षी भावना समेटिएको हुन्थ्यो, तर आजभोलि यस्तो गाउन छाडिएको छ । पुराना तीजका गितमा पराईघर जाँदा उत्पन्न हुने विभिन्न जिम्मेवारी, तनाव र समस्या समेटिएको हुन्थ्यो जुन आजभोली हराउँदै गएका छन् । तीजको गीतमा घटनाप्रधान र सृजनात्मक अभिब्यक्ति हुनुपर्ने मान्यता राखिए पनि यस्तो पाउन छाडिएको छ । सांगीतिक बजारमा निस्कीएका तीजका गीत खर्चिलो र भड्किलो हुन थालेका छन । सन्देश दिने खालका तीजका गीत सांगीतिक बजारमा न्युन संख्यामा आउने गरेको छ । तीजका गीतहरु समयानुकुल परिवर्तन भइरहेका छन् ।
महिला अधिकारका कुरा
तीज पर्वमा गाउँको चुल्होदेखि तारे होटलको किचेनसम्म महिला अधिकारको कुराले स्थान जमाउन थालेको छ । राजनीतिक, सामाजिक तथा सांस्कृतीक जागरणले महिलाहरुले देशको हरेक तह तप्कामा अधिकारको खोजी गर्ने अवसर पनि तीज बनेको छ । तीजमा आयोजना गरिने दर खाने कार्यक्रमहरुमा धेरैजसो महिलाअधिकारकर्मी, राजनीतिक दलका प्रतिनिधीहरुले चर्को भाषण गरेर अधिकार र अवसरका कुरा गर्ने गरेका छन् । उहिले तीज मनाउँदा उल्लास र उमंग कसरी बनाउने र धार्मिक तथा पौराणीक पक्षलाई कसरी पालना गर्ने भन्ने विषयले प्राथमिकता पाउँथ्यो । तर समयक्रमसँगै लैङ्गिक अर्थात महिला हिंसाका विरुद्ध आवाज सुनाउने अवसरका रुपमा पनि तीजलाई लिन थालिएको छ । यसबर्ष तीजलाई बलात्कार विरुद्धको अभियानका रुपमा मनाईदैछ । 
दर खुवाउने राजनीति
नेपालका सबै राजनीतिक पार्टीका महिला विभागहरु छन् । ती विभागले तीजमा दरखाने कार्यक्रम राख्ने बार्षीक कार्यतालिकामै समावेश गर्छन । चन्दा उठाउँछन, टिकट विक्री गर्छन र दरखाने कार्यक्रम आयोजना गर्छन् । वास्तवमा राजनीतिक दलहरुलाई तीज पर्व संगठनको गतिविधि गर्ने दरिलो प्लेटफर्म बनेको छ । राजनीतिक बहसको चौतारी जस्तै बन्न थालेको छ तीज । सामाजिक महत्व बोकेको यो पर्वलाई अहिले महिलाहरूको विचार र भावनामा परिवर्तन ल्याउने मात्र होइन संवेदना जागृत गराउने अवसरका रूपमा पनि लिन थालिएको छन् । भावना साटासाट तथा रमाइलो भेटघाटका रूपमा लिइने तीजलाई अब सामाजिक एवं राजननीकि जागरण ल्याउने अवसरका रूपमा प्रयोग गर्ने क्रम बढेको छ । यति बेला विभिन्न महिलावादी संघ, संगठन तथा राजनीतिक दलहरूले छुट्टाछुट्टै कार्यक्रमको तयारी गरिरहेका छ । पीडा बिर्साउने वा चेली–माइतीबीच भेटघाट गराउने सांस्कृतिक पर्व तीजलाई राजनीतिक भाषण गर्ने थलोका रूपमा विकास गरिँदै लागिएकोमा कतिपय मानिसहरु खुसी नभए पनि धेरैले यसलाई राजनीतिक जागरणको अवसरका रूपमा हेरेका छन् । त्यतिमात्र नभएर राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक आदि अधिकारको वकालत गर्ने अवसरका रूपमा पनि तीजको सदुपयोग गरेको बताइरहेका छन् । तीजलाई धार्मिक तथा सांस्कृतिक मान्यता स्थापित गर्ने मात्र नभै राजनीतिक जागरण सिर्जना गर्ने अवसरका रूपमा लिइए पनि राजनीतिक अखडाका रुपमा बुझ्नेहरु पनि छन् । 
 

शुक्रबार​ २१ भदौ २०८१ १०:१८ AM मा प्रकाशित

प्रतिक्रिया