images

सेयर बजारमा सामान्य अंकको गिरावट    

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार सामान्य अंकले घटेको छ । कारोबार रकम भने अघिल्लो दिनका तुलनामा बढेको छ । नेप्से परिसूचक १.९३ अंकले घट्दै २०७७.७८ को विन्दुमा रह्यो । ८८ लाख १३ हजार ३७४ कित्ता सेयर ४ अर्ब ३८ करोड ८२ लाख रुपैयाँमा किनबेच भएको छ । 

यसअघि बुधबार नेप्से ५.५८ अंकले घट्दै २०७९.७१ विन्दुमा रहँदा ८० लाख ४२ हजार ७६७ कित्ता सेयर ३ अर्ब ९९ करोड २९ लाख रुपैयाँमा किनबेच भएको थियो । मंगलबार बजार ६.२२ अंकले बढ्दा परिसूचक नेप्से २०८५.३० को विन्दुमा थियो । ८३ लाख ५ हजार ७८६ कित्ता सेयर ४ अर्ब ८ करोड ४७ लाख रुपैयाँमा किनबेच भएको थियो । 

बिहीबार १३ मध्ये होटल तथा पर्यटन, जलविद्युत, लगानी, लघुवित्त र व्यापारबाहेकका सबै उपसमूह घटेका छन् । व्यापार उपसमूह १९६ प्रतिशतले बढेको छ । १३५ कम्पनीको सेयरमूल्य घट्दा माईखोला हाइड्रोपावरका लगानीकर्ता सर्वाधिक ६.४० प्रतिशतको नोक्सानमा रहे । १०१ कम्पनीको सेयरमूल्य बढ्दा तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट नै लागेको छ । इमर्जिङ नेपाल, भगवती हाइड्रोपावर र मध्य सोलु हाइड्रोपावरको सेयरमूल्य बढेर सर्किट लागेको हो । बुद्धभूमि नेपाल र माण्डु हाइड्रोपावरको सेयरमूल्य पनि उल्लेख्य बढेको छ । ११ कम्पनीको सेयरमूल्य स्थिर रह्यो ।

सर्वाधिक कारोबार हुनेमा एनआरएन इन्फ्रास्ट्रक्चर लगातार अगाडि छ । उक्त कम्पनीको १८ करोड ६८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै सीइडीबी हाइड्रोपावरको १४ करोड ४५ लाख, पोखरा फाइनान्सको १४ करोड १३ लाख, हिमालयन लघुवित्तको १० करोड २६ लाख र सुपर मादी हाइड्रोपावरको ८ करोड ९६ लाख रुपैयाँको सेयर किनबेच भएको छ । 
 

बिहीबार २३ जेठ २०८१ ०९:२१ PM मा प्रकाशित

प्रतिक्रिया