काठमाडौँ ‘भ्यू टावर’ निर्माणबारे पुल्चोक इन्जिनियरिङ क्याम्पसले थाल्यो अध्ययन

काठमाडौं - काठमाडौं दृश्यावलोकन स्तम्भ ‘भ्यू टावर’ निर्माणबारे प्राविधिक चेक जाँचका लागि पुल्चोक इन्जिनियरिङ क्याम्पसले अध्ययन अघि बढाएको छ।

साबिक पुरानो बसपार्कमा निर्माण भइरहेको टावरको काम हालसम्म १२ तलासम्म सम्पन्न भएको छ। विसं २०७२ को भूकम्पपछि १२ तलाको बनाउने भनेर काम थालिएको भए पनि अहिले १२ तलालाई बढाएर २९ तला बनाउने तयारी कामपाको छ।

प्राविधिकले जाँच गरेपछि उनीहरूकै सल्लाहमा तला थपको काम अघि बढाइने कामपा सार्वजनिक निजी साझेदारी एकाइका प्रमुख महेश काफ्लेले जानकारी दिए।

प्रमुख काफ्लेका अनुसार भूकम्प जानुअघि २९ तला नै बनाउने योजना थियो, भूकम्प गएसँगै तला घटाएर १२ बनाउने भन्दै सोही अनुसार निर्माणको काम अघि बढाइएको हो।

“अहिले हालसम्म निर्माण भएको संरचना कस्तो निर्माण भएको छ, निर्माण सामग्री कस्तो प्रयोग गरेको छ, थप्न मिल्छ कि मिल्दैन जस्ता विषयको अध्ययन अनुसन्धान गर्न क्याम्पसलाई जिम्मा दिएको हो”, काफ्लेले भने। चार हप्तामा सक्नेगरी १० दिनअघि क्याम्पसलाई उक्त जिम्मेवारी दिइएको कामपाको भनाइ छ।

स्तम्भ निर्माणको काम जलेश्वर, स्वच्छन्द र बिकोईले विसं २०७३ साउनदेखि सुरु गरेको हो। स्तम्भ निर्माणका लागि कामपा र जलेश्वर, स्वच्छन्द र बिकोई कम्पनीबीच २०७१ साल फागुन २२ गते सम्झौता भएको थियो।

सम्झौताअनुसार पाँच वर्षभित्र ती कम्पनीले आफ्नो लगानीमा भवन बनाएर ३० वर्षसम्म भोगचलन गर्न सक्ने उल्लेख गरे पनि निर्माणका लागि भने तोकेकोभन्दा बढी समय लागाइएको छ।