images

पत्रकार महासंघको निर्वाचन र नेतृत्व छनोटबारे कृयाशील पत्रकारहरुको चासो

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचनको मिति अन्यौल भइ महासंघमा देखिएको वर्तमान समस्या र आगामी नेतृत्वको भूमिकाका विषयमा कृयाशील पत्रकारहरुले चासो, चिन्ता व्यक्त गरेका छन् ।
कृयाशील पत्रकारहरुको साझा मोर्चाले आइतबार काठमाडौंमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रमका वक्ताहरुले नेपाल पत्रकार महासंघको विधान बमोजिम कार्य नगर्दा निर्धारित समयमा निर्वाचन हुन नसकेको निश्कर्ष निकालेका छन् ।
कार्यक्रममा प्रेस मञ्च नेपालका मनोज यादवले ठूला भनिएका राजनीतिक दल निकटका पत्रकारहरुको सिण्डिकेटका कारण साना दल निकटका पत्रकारका संगठनहरुले बोल्न पनि नपाउने र उनीहरुले बोलेपनि माग सुनुवाई नुहँदा मधेश प्रदेशका अधिकाँश पत्रकार महासंघका जिल्लाहरुमा अझै तालाबन्दी भइरहेको बताए । पत्रकार महासंघको बर्तमान नेतृत्व साझा चरित्रको नहुँदा सदस्यता सुद्धिकरण, सदस्यता नवीकरण र नयाँ सदस्यता प्रदानमा समस्या भएको जिकिर गरे । 
प्रेस नेपालका उपाध्यक्ष श्याम कुमार यादवले पत्रकार महासंघको हैकमवादी प्रबृत्ति अन्त्य गर्न सबै कृयाशील पत्रकारहरुलाई आह्वान गरे । पत्रकार महासंघमा हावी भएको व्यक्तिगत तथा राजनीतिक पूर्वाग्रह सधैंका लागि अन्त्य गर्दै अगाडि बढ्न कानुनी उपचारको बाटो रोज्नुपर्नेमा उनको जोड थियो । 
त्यसैगरी प्रगतिशील पत्रकार महासंघका प्रकाश थापामगरले पत्रकार महासंघको विवादको मुख्य विषय सदस्यता सुद्धिकरण नै हो भन्दै सुर्खेतमा भएको साधारणसभाले पास गरेका बुँदा अक्षरस पालना नगरी महासंघको वर्तमान समस्या हल नहुने बताए । 
अन्तक्र्रियामा फोनिका अध्यक्ष गजुरधन राईले पेशागत, समावेशी र पक्षधर पत्रकारहरुलाई महासंघले बाहेस गर्न नहुने तर्क पेश गरे । उनले महासंघले गर्ने हरेक निर्णय सामूहिकतामा हुनुपर्ने भन्दै महासंघका संस्थापक अध्यक्षको विवाद बारे उठेका सवाल तत्काल समाधान हुनुपर्ने माग गरे । 
लोकतान्त्रिक राष्ट्रिय छापामाध्यमका अध्यक्ष दामोदरप्रसाद दवाडीले पत्रकारका समस्याका बारेमा महासंघ नबोल्नु आश्चार्यको विषय भएको भन्दै सकृय पत्रकारिता गरिरहेका पत्रकारहरुलाई किन सदस्यता दिइँदैन भन्दै प्रश्न गरे । क्रियशिल पत्रकाहरुको साझा मोर्चाका सन्योजक योगेन्द्र प्रताप शाहिले  प्रेस काउन्सिलले पत्रपत्रिका बर्गीकरणको नतिजामा ज्यादती गरेको भन्दै त्यसकाबिरुद्ध आवाज उठाउन सबै पत्रकारहरुलाई आह्वान गरे । साथै बिज्ञापन बोर्डले हालै प्रकाशन गरेको सूचनाप्रति पनि आपत्ति जनाए ।
कार्यक्रममा समाजवादी पत्रकार संगठनका लेखनाथ सिकारु, प्रगतिशील पत्रकार संघका अध्यक्ष नारायण शर्मा, पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्यहरु दीपेन्द्र कुँवर, माधव दुलाल, राष्ट्रिय दलित पत्रकार मञ्चका अध्यक्ष गोपाल बराइलीले पत्रकार महासंघमा पत्रकारलाई मात्र सदस्यता दिनुपर्ने भन्दै सुद्धिकरणका नाममा कृयाशील पत्रकारहरुको सदस्यता कटौती गरिएकोमा पत्रकार महासंघको बर्तमान नेतृत्व आलोचित र असफल भएको बताए । 
अन्तक्र्रियामा कृयाशील पत्रकारहरुको साझा मोर्चाका सचिव योगेश खपाङ्गीले मोर्चाको अवधारणाबारे अवगत गराएका थिए भने श्रमजीवी पत्रकार संघ, नेपालका अध्यक्ष जन्मदेव जैसी, संयोजक योगेन्द्र शाहीले महासंघको आगामी नेतृत्व चयनका बारेमा अझ व्यापक छलफल र अन्तक्र्रिया गर्दै साझा चरित्रको व्यक्ति छनोट गर्न मोर्चा सबै पत्रकार र संघ संगठनहरुसँग सहकार्य गर्ने बताए ।
 

सोमबार २१ साउन २०८१ ११:१९ AM मा प्रकाशित

प्रतिक्रिया